बालोटेलीले भने – ‘मेरो स्तर मेस्सी र रोनाल्डो भन्दा कम छैन’

एजेन्सी – इटालियन फुटबलर मारियो बालोटेलीले आफू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको खेलाडी रहेको दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा बालोटेलीले आफू मेस्सी र रोनाल्डोकै स्तरको खेलाडी रहेको बताएका हुन्।

एथलेटिकलाई अन्तर्वार्ता दिँदै बालोटेलीले करियरमा केहि गल्ती नगरेको भए आफू मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सकेको हुने बताए। मेस्सी र रोनाल्डोको स्तरमा रहन आफूले केहि गल्ती गरेको उनको भनाई छ।

“मैले त्यो स्तरमा हुने केही मौकाहरू गुमाएँ। तर म शतप्रतिशत पक्का छु कि मेरो स्तर पनि यी मानिसहरूकै स्तरको छ। तर मैले केही मौकाहरू गुमाएँ।”, बालोटेलीले भने।

यस्तै बालोटेलीले अहिले आफू मेस्सी र रोनाल्डोको स्तरमा नरहेको पनि स्पष्ट पारे। कयौं बालोन डी’ओर जितिसकेका खेलाडीहरुसँग अब आफ्नो तुलना हुन नसकने बालोटेलीको भनाई छ।

उनले भने,”तर अहिले म रोनाल्डो जत्तिकै राम्रो छु भन्न मिल्दैन। किनकि रोनाल्डोले पाँच बालोन डी’ओर जितिसके। मैले आफूलाई अहिले मेस्सी र रोनाल्डोसँग तुलना गर्न मिल्दैन। तर यदि हामी केवल गुणस्तर, फुटबलको गुणस्तरको बारेमा कुरा गर्दैछौं भने मैले उनीहरुको ईर्ष्या गर्नु पर्दैन।”

बालोटेली कुनै एक समयमा अत्याधिक चर्चामा थिए। उनले म्यानचेस्टर सिटी, इन्टर मिलान, लिभरपुल, र एसी मिलान जस्ता क्लबहरूबाट खेलिसकेका छन्। उनले आफ्नो करियरमा अहिलेसम्म १ सय ८५ गोल गरेका छन्। यस बीचमा उनले चार लिग उपाधि र एक च्याम्पियन्स लिग जितेका छन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८०९:३४

पिएसजीमा मेस्सीको गोल संघर्ष, यी पाँच खेलाडी भन्दा पछि परे ! को-को ?