शिर्ष चारबाट युनाइटेड आउट, आर्सनलको इन्ट्री !

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । आर्सनलले घरेलु टोली वाट्फोर्डलाई ३–२ ले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । घरेलु टोलीका जुआन हर्नान्डेज र मोउसा सिसाकोले गोल फर्काए ।

भिकारेज रोड वाट्फोर्डमा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डको गोलबाट आर्सनले सुरुवाती अग्रता लिएको थियो । उनले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए ।

११औं मिनेटमा किकोको पासमा जुआन हर्नान्डेजले ओभर हेड किकमा सुन्दर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३०औं मिनेटमा बुकायो साकाले एलेसान्द्रे लाकाजेटको पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

५२औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले अघि बढ्यो । उनले लाकाजेटकै पासमा गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा मौउसा सिसाकोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । सिसाकोले जुआन हर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै आर्सनलको २५ खेलबाट ४८ अंक पुगेको छ । यससँगै आर्सनल शिर्ष चारमा उक्लिएको छ । अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले अंक गुमाएको अवस्थामा आर्सनल चौथो स्थानमा यथावत रहनेछ । पराजित वाट्फोर्ड २७ खेलबाट १९ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८२१:४५

पछि परेको अवस्थामा पनि बार्सिलोनाले जित निकाल्यो, शिर्ष तीनमा प्रवेश !