चम्किए फेलिक्स, एट्लेटिको शिर्ष चारमा प्रवेश !

एजेन्सी – पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स चम्कदा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । एट्लेटिकोले रियल बेटिसलाई ३–१ ले पराजित गरेको हो ।

एट्लेटिकोको जितमा जोआओ फेलिक्सले दुई तथा थोमस लेमारले एक गोल गरे । घरेलु टोली रियल बेटिसका क्रिस्टियन टेलोले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा जोआओ फेलिक्सको गोलबाट एट्लेटिकोले १–० को अग्रता लिन सफल भयो । उनले एन्जल कोरेआको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्रिस्टियन टेलोले युसोउफ सावलीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६१औं मिनेटमा फेलिक्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ ले अघि बढाए । उनले मार्काेस लोरेन्टेको पासमा गोल गर्न सफल भएका थिए । ८०औं मिनेटमा परिवर्तित खेलाडी थोमस लेमारले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे । ४६औं मिनेटमा रेनान लोडीको स्थानमा मैदान प्रवेश गरेका लेमारले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै एट्लेटिको २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा उक्लन सफल हुँदा रियल बेटिसले तेस्रो स्थान गुमाएको छ । बार्सिलोनासँग समान ४८ अंक रहेपनि गोलअन्तरमा बार्सिलोना तेस्रो स्थानमा रहेको छ । पाँचौ स्थानमा झरेको रियल बेटिसको ४६ अंक छ ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८०९:३०

रोनाल्डोलाई युनाइटेड टोलीबाट निकालिएको सनसनीपूर्ण खुलासा !