च्याम्पियन्स लिगमा आज: कुन खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत आज राति दुई खेल हुँदैछन्। च्याम्पियन्स लिग अन्तिम १६ का दोस्रो लेगमा आज चार टोली मैदानमा उत्रन लागेका हुन्।

आज राति जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन च्याम्पियन रेडबुल साल्जवर्गको सामना गर्दा प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ।

पहिलो लेगमा बायर्न साल्जवर्गसँग बराबरीमा रोकिएको थियो। साल्जवर्गको घरेलु मैदानमा भएको खेलमा बायर्नले अन्तिम समयमा बराबरी गरेको थियो। २१औं मिनेटमा सब्सिच्युट चुकवुवुइकी एडामुले गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाएका थिए। बराबरी गोल फर्काउन बायर्नलाई अन्तिम समय सम्मै लागेको थियो।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा किङ्सले कोमानले गोल गर्दा बायर्नलाई हारबाट जोगाएका थिए। आज हुने खेलमा दुवै टोली जित निकाल्ने प्रयासमा हुनेछन्। आजको खेलमा जित निकाल्ने टोली च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ। खेल भारतीय च्यानल सोनी टेन वानमा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा हेर्न सकिनेछ।

यस्तै लिभरपुलले आज घरेलु मैदानमा इन्टरको आथित्यता गर्नेछ। इन्टरको घरेलु मैदानमा भएको खेलमा लिभरपुल विजयी भएको थियो। सो खेलमा रोबर्टाे फिर्मिनो र मोहम्मद सलाहले गोल गरेका थिए। आज हुने खेलमा इन्टरलाई बराबरीमा मात्र रोक्न सकेपनि लिभरपुल च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८११:२५

रियल म्याड्रिडको सामना गर्नु अगाडी मेस्सीको यो ताल, तनावमा पिएसजी !