साल्जवर्ग विरुद्ध बायर्नको गोलवर्षा, लेवान्डोस्कीको ह्याट्रिक !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बायर्नले प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब साल्जवर्गमाथि ७–१ को तथा समग्रमा ८–२ को सानदार जित निकाल्दै च्याम्पियन्स लिगका अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिदा बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्न सफल भएको हो ।

घरेलु मैदान एलिएन्ज एरिनामा मंगलबार राति भएको खेलमा बायर्नको सानदार जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लिरोए सानेले समान एक गोल गरे । साल्जवर्गका मौरिट्स काएरगार्डले एक गोल फर्काए ।

एकपक्षीय बनेको खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले गोलको खाता खोलेको थियो । म्याक्सिमिलियन ओवरले लेवान्डोस्कीमाथि फउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् । २१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । यसपटक पनि ओवरले लेवान्डोस्कीमाथि नै फउल गर्न पुगेका थिए ।

२३औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न ३–० ले अघि बढ्यो । ३१औं मिनेटमा किङ्सले कोमानको पासमा सर्ज जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो । त्यसपछि बायर्नले दोस्रो हाफमा तीन गोल थप्दै फराकिलो जित आत्मसात गर्न सफल भयो ।

५४औं मिनेटमा थोमस मुलरले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाए । ७०औं मिनेटमा मौरिट्स काएरगार्डले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ८३औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो र टोलीका लाटि छैटौं गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले यसपटक पनि सानेको पासलाई सदुपयोग गरेका थिए ।

८६औं मिनेटमा दुई असिस्ट दिइसकेका सानेले ह्याट्रिक पूरा गरेका लेवान्डोस्कीको पासमा गोल गर्दै बायर्नलाई ७–१ को एकपक्षीय सानदार जित दिलाए । साल्जवर्गले अवे मैदानमा कुनै पनि समय खुलेर खेल्नै सकेन ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८०८:२२

मेस्सी र रोनाल्डोले समेत बनाउन नसकेको रेकर्ड लेवान्डोस्कीले बनाए !