मेस्सी र रोनाल्डोले समेत बनाउन नसकेको रेकर्ड लेवान्डोस्कीले बनाए !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाएका छन् ।

लेवान्डोस्कीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब आरबी साल्जवर्गमाथि ७–१ को फराकिलो जित निकालेको खेलमा लेवान्डोस्कीले २३ मिनेटभित्र नै ह्याट्रिक पुरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

उनले इटालियन क्लब एसी मिलानका मार्काे सिमिओनले सन् १९९६ मा २४ मिनेटमा राखेको ह्याट्रिकको कीर्तिमानलाई भंग गरेका हुन् ।

मार्काे सिमिओनले यसअघि इटालियन क्लब एसी मिलानका मार्काे सिमिओनले सन् १९९६ मा रोसेनवर्गविरुद्ध २४ मिनेटभित्र ह्याट्रिक पुरा गर्दै कीर्तिमान राखेका थिए ।

२३ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका लेवान्डोस्कीले लगातार छैटौं सिजन ४० गोल पूरा गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले यो सिजन ४२ गोल गरिसकेका छन् ।

एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले गोलको खाता खोलेको थियो । म्याक्सिमिलियन ओवरले लेवान्डोस्कीमाथि फउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् । बायर्नको दोस्रो गोल पनि उस्तै रह्यो । वोबरले नै लेवान्डोस्कीमाथि फउल गरेपछि बायर्नले पेनाल्टीमा गोल गर्न सफल भएका थिए ।

२३औं मिनेटमा साल्जवर्गका गोलरक्षक फिपिप कोहन अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ३१औं मिनेटमा सर्ज जिनब्रीले गोल गरे । त्यसपछि थोमस मुलरले ५४औं मिनेटमा गोल गरे । ७०औं मिनेटमा माउरिट्स केएरगार्डले गोल फर्काए । ८३औं मिनेटमा मुलरले तथा ८६औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

अष्ट्रियामा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । चुकवुबुइकी एडामुले गोल गर्दा बायर्नका किङ्सले कोमानले बराबरी गोल फर्काएका थिए ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८०८:२५

रियल म्याड्रिड भर्सेस पीएसजी: एम्बाप्पे खेल्ने सम्भावना कति ?