पिएसजीसँग रियलले लियो बदला, बेन्जेमाको ह्याट्रिक !

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रियलले एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक पूरा गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै सानदार जित दिलाए ।

त्यसअघि ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि आठौं मिनेटमा केलियन एमबाप्पेको प्रयासलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे ।

१२औं मिनेटमा ड्यानी कार्भाजलको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै १३औं मिनेटमा इडर मिलिसाओको गल्तमिा एमबाप्पेको प्रयासलाई गोलरक्षक कोर्टुवा नै बाधक बने । २५औं मिनेटमा करिम बेन्जेमाको प्रयासलाई जियानलुइजी डोन्नररुम्माले विफल पारे ।

३४औं मिनेटमा एमबाप्पेले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । नुनो मेन्डेसबाट बल पाउनुअघि नै एमबाप्पे अफसाइड पोजिसनमा रहेका थिए । ३७औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा बेन्जेमाको प्रयास सफल भएन ।

एक गोलले पछि रहेको दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्को भेराट्टीको ब्याक पासमा गोलरक्षक जियानुलइजी डोन्नररुम्माले क्लियर गर्न नसकेको बललाई भिनिसियस जुनियरले दिएको पासमा बेन्जेमाले ६ यार्डबाट गोल गर्न सफल भएका थिए ।

६४औं मिनेटमा बेन्जेमाको शक्तिशाली हेडर पोस्ट नजिकैबाट बाहिरियो । ७३औं मिनेटमा बेन्जेमाको क्रस डिफ्लेक्ट भएर फर्कदा भिनिसियसले पाएको सुवर्ण अवसर आकासिदा रियल अग्रता लिनबाट चुक्यो । ७६औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

लुका मोड्रिचले मैदानको मध्यभागबाट दिएको पासलाई भिनिसियसले नियन्त्रणमा लिदै पुनः मोड्रिचसमक्ष पुग्दा उनको पासलाई बेन्जेमाको प्रहार मार्किन्हसलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाउँदै सानदार पूनरागमन जित दिलाए । मार्किन्हसको कमजोर क्लियरेन्सलाई बेन्जेमाले सहज फिनिस गर्न सफल भएका थिए ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८०७:४७

१७ मिनेटमै बेन्जेमाले पूरा गरे ह्याट्रिक ! हेर्नुहोस् भिडियो !