पोग्बालाई सित्तैमा उछिट्याउने दाउमा धेरै क्लब, रियल र पिएसजी बीच घमासान !

एजेन्सी – फ्रेन्च मिडफिल्डर पल पोग्बा म्यानचेस्टर युनाइटेडमा अन्तिम सिजन बिताइरहेका छन्। यहि समरमा सम्झौता सकिँदै गरेका पोग्बाले युनाइटेड छाड्ने प्रवल सम्भावना छ। न त क्लबले पोग्बालाई राख्न चाहेको छ, न त पोग्बाले नै युनाइटेडमा बस्न चाहेका छन्। पोग्बा युनाइटेड कुनै पनि हालतमा बस्न चाहँदैनन्।

युनाइटेड जारी सिजनमा सबै उपाधि जित्ने दौडबाट बाहिरिएपछि त पोग्बा झनै क्लब छाड्न आतुर देखिएका छन्। जारी सिजनमा युनाइटेड च्याम्पियन्स लिगमा छनौट नहुन समेत सक्छ। यसैले पोग्बा नयाँ क्लबको खोजिमा जुटेका छन्।

पोग्बालाई भित्र्याउन स्पेनिस महारथी रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन(पिएसजी)ले चासो देखाइरहेका छन्। हालसालै आएको खबर अनुसार दुवै क्लब पोग्बाका एजेन्टसँग सम्पर्कमा छन्। दुवै क्लबले उनका एजेन्टहरुसँग भेटघाट गरिसकेको बताइन्छ।

प्रिमियर लिगका दुई क्लबहरुले पनि पोग्बाका प्रतिनिधिहरुसँग सम्पर्क गरेको स्काई स्पोर्ट्सले जनाएको छ। पोग्बा फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा धेरै क्लब पोग्बालाई भित्र्याउन चाहन्छन्। समर ट्रान्सफर विन्डो नजिकिँदै गर्दा पोग्बालाई लिएर धेरै क्लबहरु बीच प्रतिष्पर्धा शुरु भइसकेको छ।

त्यस्तै पूर्वक्लब युभेन्टसको पनि पोग्बामा नजर छ। युनाइटेड जानु भन्दा अगाडी उनी युभेन्टसमा थिए। युनाइटेडले सन् २०१६ मा पोग्बालाई भित्र्याएको थियो। त्यसबेला युनाइटेडले १ सय मिलियन युरो भन्दा बढी रकम खर्च गरेको थियो।

प्रकाशित : बिहिबार, चैत १०, २०७८०९:०८

बार्सिलोनाको प्रस्ताव गाभी र अराउजोद्वारा अस्विकार, बार्सिलोनामा खैला-बैला !