एजेन्सी – प्रिमियर लिग क्लब नयाँ प्रशिक्षकको खोजिमा छ। हालका अन्तरिम प्रशिक्षक राल्फ रङ्गनिक यस सिजन सम्मका लागि मात्र प्रशिक्षकको भूमिकामा रहने भएका कारण युनाइटेडलाई नयाँ प्रशिक्षक चाहिएको हो।
भरपर्दो प्रशिक्षक नहुँदा क्लबले खासै राम्रो प्रदर्शन गर्न नसकेका कारण युनाइटेडले दिर्घकालिन प्रशिक्षकको खोजि गरिरहेको छ। सन् २०२१-२२ को सिजन सकिन केहि महिना मात्र बाँकि रहेको अवस्थामा युनाइटेड अहिले देखि नै नयाँ प्रशिक्षकको खोजिमा जुटेको छ।
युनाइटेड नयाँ प्रशिक्षकको खोजिमा जुटेपछि क्लबका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले स्पोर्टिङ सीपीका प्रबन्धक रुबेन अमोरिमलाई सिफारिस गरेका छन्। रोनाल्डोले अमोरिमलाई प्रशिक्षकको रुपमा नियुक्त गर्न युनाइटेडका अधिकारीहरुलाई सुझाव दिएका हुन्।
रोनाल्डोले युनाइटेडका अधिकारीहरुलाई अमोरिम युनाइटेडको जिम्मेवारी सम्हाल्न सक्ने सबै भन्दा उपयुक्त प्रशिक्षक हुन सक्ने बताएको पोर्चुगिज ट्रान्सफर मार्केटका जानकारी पेड्रो अल्मेडाको दावी छ।
अमोरिम सन् २०२० मा सीपीको प्रशिक्षकमा नियुक्त भएका थिए। वर्षौंदेखि आर्थिक कठिनाइहरूको सामना गर्दै आएको स्पोर्टिङ सीपीलाई अमोरिमले प्रशिक्षक नियुक्त भएको दोस्रो वर्षमै पोर्चुगिज च्याम्पियन बनाएका थिए।
उनले पोर्चुगिज लिगमा सबैभन्दा छिटो ५० खेल जित्ने प्रशिक्षकको रुपमा पनि रहेका छन्। उनले स्पोर्टिङ सीपीलाई १३ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्याएका थिए। रोनाल्डो र अमोरिमले एक साथ पनि खेलिसकेका छन्। पोर्चुगलको राष्ट्रिय टोलीको सदस्य हुँदा अमोरिमले रोनाल्डोसँगै खेलेका थिए।

