बार्सिलोनाका लागि खुसीको खबर, क्लबका नम्बर १० फाती छिट्टै फिर्ता हुँदै ! कहिले ?

एजेन्सी – गएको केहि महिना देखि घाइते रहेका अन्सु फाती छिट्टै मैदानमा फर्किने भएका भएका छन्। पछिल्लो दुई महिना देखि आराम गरिरहेका फाती आउने केहि साता भित्रै मैदानमा फर्किने स्पेनिस मिडियाहरु बताउँछन्।

फाती दुई महिना अगाडी कोपा डेल रे अन्तर्गत एथलेटिक क्लब विरुद्धको खेलमा घाइते भएका थिए। घाइते हुँदा फातीको शल्यक्रिया गरिने चर्चा समेत थियो। तर त्यसबेला फातीले शल्यक्रिया गर्ने भन्दा पनि आराम गर्ने निर्णय लिएका थिए।

दुई महिना आराम गरेपछि फाती छिट्टै प्रशिक्षणमा सहभागी हुने बताइएको छ। इन्टरनेसनल ब्रेक सकिएपछि फाती बार्सिलोनाको टोलीमा फिर्ता हुने सम्भावना रहेको छ। तर बार्सिलोनाले फातीको विषयमा त्यति जोखिम भने उठाउने छैन।

पछिल्ला दुई वर्षमै पटक-पटक घाइते भइसकेका उनलाई हतार गरेर मैदानमा उतार्ने प्रशिक्षक जाभी हर्नान्देजको योजना छैन। बार्सिलोनाको वर्तमान टोलीले नै राम्रो गरिरहेका कारण जाभीले फातीलाई प्रयोग गर्न हतार गर्ने छैनन्।

अहिले बाहिर आएका खबरअनुसार फाती युरोपा लिगको क्वाटरफाइनलमा फ्रान्कफर्ट विरुद्धको दोस्रो लेगमा फिर्ता हुन सक्छन्। सो खेलमा फाती शुरुवाती ११ मा भने पर्ने छैनन्। उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न सक्ने सम्भावना देखिन्छ।

सो खेलमा फिर्ता नभएको खण्डमा फाती लालिगा अन्तर्गत काडिज विरुद्धको खेलमा फिर्ता हुन सक्नेछन्। जाभीले फातीलाई क्रमिक रुपमा मैदानमा उतार्ने तयारी गरिरहेका छन्। पूरा समय खेल्न दिने भन्दा पनि वैकल्पिक खेलाडीको रुपमा उतारेर क्रमिक रुपमा फातीलाई अगाडी बढाउने जाभीको योजना छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१०:१९

मेस्सी लामो समय पिएसजीमा नबस्ने, बार्सिलोना पनि नफर्किने !