मेस्सी लामो समय पिएसजीमा नबस्ने, बार्सिलोना पनि नफर्किने !

एजेन्सी – अर्जेन्टिनाका फुटबल लिजेन्ड मारियो केम्पेसले लियोनेल मेस्सी लामो समय पेरिस सेन्ट जर्मेन(पिएसजी)मा नटिक्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा केम्पेसले मेस्सी लामो समय पिएसजीमा रहने सम्भावना आफूले कम देखेको बताएका हुन्।

सुपर डिपोर्टिभो रेडियोसँग कुराकानी गर्नेक्रममा केम्पेसले अहिले जस्तै वातावरण भए मेस्सी छिट्टै पिएसजीबाट बाहिरिने सम्भावना रहेको बताए। असन्तुष्ट भएर पिएसजीमा मेस्सी लामो समय सम्म बस्न नसक्ने उनको भनाई छ।

“यस्तै वातावरण रहिराखे मेस्सी लामो समय पिएसजीमा रहने म देख्दिन। मेस्सी पिएसजीमा दिक्क र असन्तुष्ट भए भने उनले विकल्प खोज्नुपर्छ। त्यस्तो अवस्थामा उनले भविष्यलाई लिएर कठोर निर्णय गर्न पर्ने हुन सक्छ।”,केम्पेसले भने।

त्यसक्रममा केम्पेसले पिएसजी बार्सिलोना नरहेको र मेस्सीलाई त्यहाँ जस्तो सहज नभएको बताए। मेस्सी बार्सिलोनामा हुँदा जति सन्तुष्ट नभएको कुरा सहि भएको केम्पेसले दावी गरे।

उनले भने,”पिएसजी बार्सिलोना होइन। बार्सिलोनामा उनी राजा थिए। बार्सिलोनामा उनी जति खुसी थिए, पिएसजीमा त्यति छैनन्। तर अझै पनि मेस्सी फुटबलमा राजा नै छन्। तर जे भइरहेको छ, त्यो सबै मेस्सीले चाहेको छैनन्।”

त्यस्तै केम्पेसले मेस्सीलाई बार्सिलोनाले फिर्ता लैजानेमा पनि शंका व्यक्त गरे। उनका अनुसार बार्सिलोना मेस्सीलाई सहजै फिर्ता लैजाने पक्षमा देखिँदैन।

“बार्सिलोनाले मेस्सीलाई सहजै फिर्ता बोलाउँछ भन्ने मलाई लाग्दैन। मेस्सीले त्यसरी छाड्छन् भन्ने कसैले सोचेका थिएन। त्यसैले सहजै उनी फिर्ता हुन्छन् भनेर भन्न सकिँदैन।”,उनले भने।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१०:५१

के आज टर्की विरुद्ध पोर्चुगलबाट खेल्न पाउलान् रोनाल्डोले ?