चोट र प्रतिबन्ध बन्न सक्छ रोनाल्डो र विश्वकप बीचको भिलेन !

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत प्लेअफको सेमिफाइनलमा विहीबार पोर्चुगलले टर्कीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजे सुरु हुनेछ ।

यस खेलको विजेताले प्लेअफ फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । अर्को सेमिफाइनलमा आज नै इटाली र नर्थ म्यासेडोनिया प्रतिस्पर्धा गर्दैछन् । युरो कपको उपाधि जितेको इटालीले दुवै खेल जिते मात्र विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र इटालीमा बढीमा एक टोलीले मात्र विश्वकप खेल्नेछन् ।

टर्कीविरुद्ध सेमिफाइनल अघि पोर्चुगललाई चोट र प्रतिबन्धले निकै पिरोलेको छ । सुरुवाती रोजाइमा नै रहेका आधा दर्जन खेलाडी यो खेलमा उपलब्ध छैनन् । युरोपकै उत्कृष्ट डिफेन्डरको उपाधि जितेका रुबेन डियास घाइते छन् भने म्यानचेस्टर सिटीबाट नै उच्च प्रदर्शन गरिरहेका फुलब्याक जोआओ क्यान्सेलो प्रतिबन्धमा छन् । युवा मिडफिल्डर रेनाटो सान्चेसले पनि प्रतिबन्धका कारण खेल गुमाउनेछन् ।

अनुभवी डिफेन्डर पेपे कोरोना संक्रमणका कारण टोलीमा हुने छैनन् । मिडफिल्डर रुबेन नेभेस र गोलरक्षक एन्थोनी लोपेस पनि चोटका कारण टोलीबाहिर छन् । यस्तो अवस्थामा रक्षात्मक रुपमा टोली निकै समस्यामा पर्ने देखिन्छ । प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो दोस्रो रोजाइको डिफेन्समा निकै महत्त्वपूर्ण खेल खेल्नुपर्ने भएको छ ।

आक्रमणमा भने पोर्चुगलसँग उत्कृष्ट खेलाडी उपलब्ध छन् । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो टोलीको कप्तानी गर्नेछन् । जोआओ फेलिक्स, डिओगो जोटा र बर्नार्डो सिल्भा आफ्नो क्लबको लयलाई राष्ट्रिय टोलीमा निरन्तरता दिन चाहन्छन् ।

यता टर्की भने आफ्नो सर्वाधिक बलियो टोलीसहित मैदान उत्रनेछ । प्रिमियर लिगमा लेस्टरका लागि खेलिरहेका काग्लार सोयुन्चु, डिफेन्डर मेरिह डेमिराल, विंगर चेन्गिज उन्दर तथा फरवार्ड बुराक यिल्माज सबै सुरुवात गर्ने देखिन्छ । मिलानका मिडफिल्डर हाकान चाल्हानोग्लु पनि प्रभाव जमाउन चाहन्छन् ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१४:२६

लिभरपुल सम्झिँदै काउटिन्होले भने-“निकै राम्रो कथा छ, बार्सामा खै के मिलेन..के”