युरोप हल्लाउँदै जाभी, लेवान्डोस्की पनि बार्सिलोना आउन बार्यन छाड्न तयार भए !

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा जान इच्छुक रहेको बताइएको छ। बुन्डेसलिगा क्लबसँग आठ सिजन बिताएपछि पोलिश स्टार अब नयाँ चुनौतीको खोजिमा रहेको विश्वास गरिन्छ।

स्पोर्टका अनुसार, रोबर्ट लेवान्डोस्कीको एजेन्ट पिनी जाहिवीको बार्सिलोना अध्यक्ष जोन लापोर्टासँग घनिष्ठ सम्बन्ध रहेको कारणले पनि पूर्व डर्टमण्ड स्टार क्याम्प नोउमा आउने वास्तविक सम्भावना रहेको छ। रोबर्ट लेवान्डोस्की सन् २०१४ मा बोरुसिया डर्टमुण्डबाट नि:शुल्क ट्रान्सफरमा बायर्न म्युनिखमा आबद्ध भएका थिए। उनले जर्मन महारथीका लागि ३६६ खेलमा ३३९ गोल गरेका छन् र क्लबलाई सात बुन्डेसलिगा उपाधि, तीन डीएफबी पोकल ट्रफी र एउटा च्याम्पियन्स लिग उपाधि जिताउन मद्दत गरेका छन्। लेवान्डोस्कीले ६ पटक ‘बुन्डेसलिगा टप गोलस्कोरर अफ द इयर’ अवार्ड जितेका छन्।

३३ वर्षिय खेलाडीले यो सिजन सबै प्रतियोगितामा जम्मा ३७ खेलमा ४५ गोल गरेका छन्। बायर्न म्युनिखसँग उनको सम्झौता २०२३ मा सकिँदैछ। त्यसैले पनि जुलियन नागेल्सम्यानको टोली यस समरमा लेवान्डोस्कीलाई अर्को वर्ष नि:शुल्क स्थानान्तरणमा गुमाउने जोखिमको सट्टा बेच्ने सम्भावनाको लागि खुला हुन सक्छ। विभिन्न रिपोर्टका अनुसार पोलिश स्ट्राइकर आफ्नो करियर अन्त्यतिर प्रवेश गर्नु अघि युरोपको शीर्ष क्लबहरू मध्ये एक क्लबबाट खेल्न चाहन्छन्।

जाभी हर्नान्डेजको नेतृत्वमा बार्सिलोना सही दिशामा अघि बढेको देखिन्छ। स्पेनियार्डले सिजनको पहिलो हाफमा क्याम्प नोउको कमान सम्हाल्दा क्लब ला लिगा तालिकामा नवौं स्थानमा रहेको थियो। हाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको क्याटलान क्लब युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाले पछिल्ला ५ लालिगा खेल मध्ये ४ खेलमा हरेक पटक ४ गोल गरेका छन्। यस्तोमा, लेवान्डोस्की पूर्व स्पेनी मिडफिल्डरको परियोजनाको हिस्सा बन्न इच्छुक रहेको विश्वास गरिन्छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१७:३०

रोनाल्डो सहित यी ५ युनाइटेड खेलाडी जसलाई टेन ह्यागले लात हानेर लखेट्नेछन् !