विश्वकप छनोटमा पोर्चुगलको सहज जित, विश्वकप खेल्न अब एक खेल मात्र बाँकी !

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनलमा सहज जित निकाल्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ । पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो ।

पोर्टोेमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे । टर्कीका बुराक यिल्माजले एक गोल फर्काए।

खेलको १५औं मिनेटमा ओटाभियोको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । ४२औं मिनेटमा डिएगो जोटाले ओटाभियोकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

६५औं मिनेटमा बुराक यिल्माजले सेन्गुइज अन्डरको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८५औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की बराबरीबाट चुक्यो ।

त्यसपछि इन्ज्युरी समयको थफ गरिएको चौथो मिनेटमा म्याथिएस लुइजले राफयल लियोको पासमा गोल गर्दै जित पक्का गर्दै टोलीलाई विश्वकप छनोट अन्तरगतको प्ले अफको फाइनलमा पुर्याए ।

अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ । नर्थ म्यासेडोनियाले बिहीबार राति नै युरो २०२० को च्याम्पियन इटालीलाई १–० ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको छ । पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल २९ मार्चमा हुनेछ ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८०८:१५

पोर्चुगलको भाग्य चम्कियो, इटाली विश्वकप छनौटबाट आउट !