पोर्चुगलको भाग्य चम्कियो, इटाली विश्वकप छनौटबाट आउट !

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ ।

इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि फिनिसिङमा चुक्दा र अन्तिम समयमा गोल खाँदै विश्वकपको छनोटबाटै बाहिरिन पुग्यो ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । यसअघि इटाली २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो ।

विश्वकप छनोटमा इटाली घरेलु मैदानमा ५९ खेलसम्म अपराजित रहेको थियो । जसमा ४८ जित र ११ बराबरी रहेको थियो । जुन नथ म्यासेडोनियाले तोड्दै इटालीको विश्वकप खेल्ने सपना चकनाचुर पारिदिए ।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८०८:२०

बेलले देखाए जादू, वेल्स विश्वकप छनौट प्ले अफको फाइनलमा !