ब्राजिलको अपराजित यात्रा कायमै, चार खेलाडीले गरे गोल !

जेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले घरेलु मैदानमा चिलीलाई ४–० ले सहजै हराएको हो ।

माराकाना स्टेडियम रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको सहज जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो ।

खेलको ४४औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्थोनीको पासमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा परिवर्तित खेलाडी फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए । पेनाल्टी प्रहारमा नेयमार रहेपनि उनले कौटिन्होलाई पेनाल्टीको अवसर दिदा उनी चुकेनन् । कौटिन्हो ६३औं मिनेटमा लुकास पाक्वेटाको स्थानमा मैदान छिरेका थिए । ९०औं मिनेटमा अर्का परिवर्तित खेलाडी रिचार्लीसनले गोल गर्दै ब्राजिलको सानदार जित पक्का गरे । रिचार्लीसन ७५औं मिनेटमा एन्थोनीको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको ब्राजिलको १६ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले १३ जित र ३ बराबरीको नतिजा निकालेको छ । ब्राजिलसँगको हारपछि चिलीको विश्वकपमा छनोट हुने सम्भावना न्युन बनेको छ । चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

अन्य नतिजा
कोलम्वियाविरुद्ध बोलिविया (४–०), उरुग्वेविरुद्ध पेरु (१–०) र पाराग्वेविरुद्ध इक्वेडर (३–१)

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१०:५३

कतार विश्वकपमा कुन-कुन राष्ट्र भइसके छनोट ?