चुम्बक बन्दै जाभी, बार्सिलोना जान सलाह इच्छुक !

एजेन्सी – स्पेनिस आउटलेट मुन्डो डेपोर्टिभोले लिभरपुलका स्टार फुटबलर मोहम्मद सलाह बार्सिलोना प्रशिक्षक जाभी हर्नान्देजको खेल शैली मन पराइरहेको दावी गरेको छ। डेपोर्टिभोले हालसालै एक रिपोर्ट सार्वजनिक गर्दै सलाह जाभीको प्रशंसक रहेको र उनी जाभीसँग काम गर्न इच्छुक रहेको दावी गरेको हो।

सलाहको लिभरपुलमा सन् २०२३ सम्मको लागि मात्र सम्झौता छ। लिभरपुलले सलाहलाई क्लबमै राख्न चाहेपनि उनले उच्च पारिश्रमिक माग गरेपछि लिभरपुल समस्यामा परेको छ। बताइएअनुसार सलाह साप्ताहिक ४ लाख युरो पारिश्रमिक माग गरिरहेका छन्। तर त्यति धेरै पारिश्रमिक दिन लिभरपुल तयार छैन।

माग गरेजति पारिश्रमिक दिन लिभरपुल तयार नभएसँगै सलाहले अब नयाँ क्लबको खोजि गर्न पर्ने भएको छ। लिभरपुलमै रहने सलाहको प्राथमिकता रहेपनि उनले अन्य क्लबहरुको प्रस्ताव सुन्ने तयारी गरिरहेका छन्। लिभरपुल छाड्नुपर्ने अवस्था भएको खण्डमा उनी बार्सिलोना जान सक्ने विभिन्न खेल मिडियाहरु दावी गर्छन्।

जाभीले बार्सिलोनामा ल्याएको परिवर्तन देखेर सलाह बार्सिलोना जान इच्छुक देखिएको डेपोर्टिभोको दावी छ। गत डिसेम्बरमा पनि सलाहले बार्सिलोना जाने चाहना व्यक्त गरेका थिए। त्यस्तै जाभी पनि सलाहका प्रशंसक हुन्। जाभीले पनि त्यस समयमा सलाह जस्तो खेलाडीलाई आफू क्लबमा चाहने बताएका थिए।

जाभीको सो भनाई पछि सलाहले खुसी व्यक्त गरेका थिए। उनले भनेका थिए,”मलाई साइन गर्न जाभिको रुचिको बारेमा मैले पढें। बार्सिलोना जस्तो टोलीले ममा चासो राखेर देख्दा खुसी लाग्यो। तर म लिभरपुलमा सन्तुष्ट छु। तर के हुन्छ भविष्यमा हेर्दै जाउँ।”

प्रकाशित : आइतबार, चैत १३, २०७८११:५३

हाजार्ड रियल आएपछि मात्रै १४ पटक घाइते भए, झन्डै डेढ वर्ष आराम गरेरै बिताए !