क्लोप भित्र्याएर झनै घातक बन्ने रियलको योजना ! लिभरपुल छाडेर जालान् त स्पेन ?

एजेन्सी – जर्मन प्रशिक्षक योर्गन क्लोप प्रिमियर लिग क्लब लिभरपुलमा करियरकै उत्कृष्ट समय व्यतित गरिरहेका छन्। लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग सहित विभिन्न उपाधिहरु जिताइसकेका क्लोप सन् २०२४ सम्मका लागि लिभरपुलमा रहनेछन्।

क्लोपले सन् २०२४ पछि लिभरपुलसँगको सम्झौता थप गर्ने-नगर्ने केहि पनि स्पष्ट छैन। तर क्लोपले सन् २०२४ मा लिभरपुल छाड्ने धेरैको अनुमान छ। सन् २०२४ पश्चात क्लोप नयाँ चुनौतीको खोजिमा हुने बताइन्छ।

लिभरपुल छाडेपछि उनी कहाँ जालान् भन्नेमा सबैको चासो छ। क्लोप जस्तो प्रशिक्षकलाई पक्कै पनि युरोपका ठूला भन्दा ठूला क्लबहरुले भित्र्याउन चाहनेछन्। स्पेनिस मिडियाहरुका अनुसार क्लोपलाई लालिगा क्लबहरुले पनि भित्र्याउन सक्नेछन्।

क्लोपलाई भित्र्याउन इच्छुक क्लबहरुको सूचीमा रियल म्याड्रिड समेत रहेको छ। वर्तमान प्रशिक्षक कार्लो एन्सेलोटीको कामबाट सन्तुष्ट रहेपनि सन् २०२४ मा क्लोपलाई क्लबको जिम्मेवारी दिने रियलको तयारी रहेको स्पेनिस मिडियाहरुको दावी छ।

क्लोप व्यवस्थापन कौशलका लागि परिचित छन्। क्लोपले कम चर्चित खेलाडीलाई पनि उत्कृष्ट खेलाडीको रुपमा परिणत गर्ने क्षमता राख्छन्। लिभरपुललाई उनले जुन स्तरमा पुर्याएका छन्, त्यसको निरन्तर फुटबल वृत्तमा चर्चा हुने गर्छ।

क्लोप जस्तो प्रशिक्षकलाई क्लबको जिम्मेवारी दिँदा घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि अहिले भन्दा राम्रो प्रदर्शन गर्न सक्ने रियलका अधिकारीहरुको बुझाई रहेको छ। तर रियलको योजनामा अन्य क्लवहरु बाधक बन्न सक्छन्। युरोपका अन्य ठूला क्लबहरुले पनि उनलाई भित्र्याउने प्रयास गर्न सक्छन्। त्यस्तै उनले क्लबको भन्दा पनि जर्मनको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी लिने पनि सम्भावना छ।

प्रकाशित : आइतबार, चैत १३, २०७८१६:४६

मेस्सी पीएसजीको औकात भन्दा माथिको खेलाडी भएको फाब्रेगासको दाबी !