रोबर्टो म्यानसिनीले सन् २०२२ को विश्वकपका लागि छनोट हुन नसके पनि आफू इटालीको प्रशिक्षकको रूपमा रहने पुष्टि गरेका छन् र आफ्नो टोलीले प्रतियोगिता जित्न सक्ने दाबी गरेका छन्।

युरो २०२० विजेताले यस वर्ष कतारमा हुने प्रतियोगितामा स्थान बनाउन प्ले-अफ मार्फत जानुपर्ने थियो तर प्ले-अफको सेमीफाइनलमा इटाली उत्तरी मेसेडोनियासँग स्तब्ध हुँदै २०२२ विश्वकपमा बाहिरिएको हो। इटाली रहेको ग्रुप सी बाट पोर्चुगल विश्वकपका लागि छनोट भइसकेको छ। मेसेडोनियासँगको निराशजनक हारका बाबजुद पनि पूर्व म्यानचेस्टर सिटी प्रशिक्षक राष्ट्रिय टोलीबाट राजिनामा नदिने र आफ्नै कार्यकालमा विश्वकप जित्ने आफ्नो सपना पूरा गर्ने आशामा छन्।
“मैले [इटालियन फुटबल एसोसिएसन] का अध्यक्ष गब्रिएल ग्राभिनासँग कुरा गरें, हामीसँग सबै कुरामा समान विचार छ,” म्यान्सिनीले टर्कीसँगको मैत्रीपूर्ण खेल अघि पत्रकार सम्मेलनमा भने, “हामी खेल पछि यस बारे फेरि कुरा गर्नेछौं, हामी शान्त भएर सोच्नेछौं। भविष्यको लागि के सुधार गर्न आवश्यक छ।”

आफू यस भूमिकामा किन रहन चाहेको भन्ने प्रश्नमा म्यान्सिनीले भने: “किनकि म अझै जवान छु र म युरोपेली च्याम्पियनसिप र विश्वकप जित्न चाहन्छु, मलाई अझै पनि समय चाहिन्छ। मलाई मेरो काम मनपर्छ, मलाई थाहा छ म अझै धेरै गर्न सक्छु र यी खेलाडीसँग म महत्त्वपूर्ण कुरालाई पुन: संगठित गर्न सक्छु।”
म्यानसिनीले २०१८ मा राष्ट्रिय टोलीको जिम्मेवारी लिएका थिए र उनको सम्झौतामा अझै चार वर्ष बाँकी रहेको छ। टर्कीसँग मैत्रीपूर्ण खेल पछि, इटालियन प्रशिक्षकले जुनमा जर्मनी, हंगेरी र इङ्गल्याण्ड विरुद्ध नेसन्स लिगको भिडन्तहरूमा ध्यान केन्द्रित गर्नेछन्। यसैबीच आफूले टोलीमा केही परिवर्तन गर्ने पनि उनले बताएका छन्।

उनले भने: “हामीसँग युवा खेलाडीहरू थप्ने मौका छ, जसलाई हामी आशा गर्छौं, उनीहरूको क्लबमा थप अवसरहरू पाउनेछन्। यो महत्त्वपूर्ण छ। धेरै युवा खेलाडीहरू छन् जो इटालीसँग खेल्ने महत्वाकांक्षा र अगाडि उज्ज्वल भविष्यका साथ रहेका छन्। हामी युवा खेलाडीको क्षमता हेर्न सक्छौं। हालको टोलीले केही थप गरेर विश्वकप जित्न सक्ने थियो। हामीले हेर्नु पर्ने धेरै चीजहरू छन्, निश्चित रूपमा, हामी अर्को खेलहरूबाट केही परिवर्तन गर्नेछौं। हामीले दुई वर्षमा युरो माथि नजर राखेर उक्त प्रतियोगितामा छनोट हुन तयार हुनुपर्छ। यो हाम्रो काम हो।”

