२१औँ शताब्दीमा प्रविधिको विकाससँगै इन्टरनेट र मोबाइल फोन हाम्रो जीवनको अत्यन्तै महत्वपूर्ण अंग बनेका छन्। यसको मद्दतले, दैनिक जीवनका चीजहरू धेरै सजिलो भएको छ, तर यो अद्वितीय टेक्नोलोजीका केही बेफाइदाहरू पनि छन्। काम वा मनोरञ्जनका लागि हामी मोबाइल फोनको धेरै प्रयोग गर्न थालेका छौं जसको कारणले गर्दा साना बच्चाहरु पनि अब यसको माग गर्न थालेका छन्।
मोबाइलको लत
कति पटक अभिभावकले नचाहेर पनि बाध्यतामा आफ्ना बच्चालाई मोबाइल सुम्पिदिन्छन्, बिस्तारै बच्चालाई पनि स्मार्टफोनको लत लाग्न थाल्छ र उनी दिनभर यही ग्याजेटमा टाँसिन्छन्। धेरै पटक बच्चाहरु फोन नहेरी खाना खान पनि सुरु गर्दैनन्, यो देखेर अभिभावकलाई आफ्नो गल्ती महशुस हुनसक्छ तर त्यतिन्जेल ढिलो भइसकेको हुन्छ। तर केही यस्ता उपायहरू छन् जसको मद्दतले तपाईं आफ्नो बच्चाको यो लतबाट छुटकारा पाउन सक्नुहुन्छ।
किताब
इन्टरनेटको जमानामा किताबबाट टाढा बस्नु सामान्य भइसकेको छ। आमाबुवा आफैं दिनभर मोबाइलमा टाँसिने भएकाले आजकाल बालबालिका पनि किताब हेर्न पनि रुचाउँदैनन्। यदि तपाई आफैंले बच्चाहरूको अगाडि पुस्तक पढ्नुहुन्छ भने, बच्चाहरूले पनि नक्कल गरेर भएपनि किताब उठाउँन सक्छन्। त्यसपछि बिस्तारै आफ्ना बच्चालाई मोबाइल भन्दा पनि किताबसँग रमाउने वातावरण दिनुहोस्।
प्रकृतिसँग प्रेम
बालबालिकालाई प्रकृतिसँग जति नजिक ल्याउनुहुन्छ, त्यति नै उनीहरू मोबाइल फोनबाट टाढा हुनेछन्। हाम्रो जीवनमा प्राकृतिक चीजहरूको महत्त्व के हो भनी उनीहरुलाई बताउनुहोस् र यस्तो वातावरणमा रमाउने र घुलमिल हुने समय दिनुहोस्। आफूले खाली समय पाउने बित्तिकै तपाईं आफ्ना बच्चालाई कुनै पार्क वा प्राकृतिक क्षेत्रमा समय बिताउन लग्न सक्नुहुन्छ।
आउटडोर खेल
कोरोना भाइरसको महामारीपछि गरिएको लकडाउनका कारण बालबालिका लामो समयसम्म घरमै थुनिएका थिए, जसका कारण उनीहरुलाई मोबाइलको बानी परेको छ। यस अवधिमा अनलाइन शिक्षामा सेलफोनको प्रयोग बाध्यता बन्यो। यससँगै बालबालिकाको बाहिर खेल्ने बानी पनि हराएको छ। यस्तो अवस्थामा उनीहरुलाई बाहिरी खेलका लागि प्रोत्साहित गर्नु अभिभावकको दायित्व हो ताकि उनीहरुको ध्यान मोबाइलबाट हटोस्।

