काठमाडौँ – ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट एक दर्जन भन्दा बढी बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरस्थित यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो।
व्यक्तिगत काममा आएका सेवाग्राहीहरूलाई अनावश्यक दु:ख दिएको भन्ने गुनासो आएपछि त्यसक्षेत्रमा खटिएर बिचौलियाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।
पक्राउ पर्नेहरुमा खोटाङ घर भई ललितपुर बागडोल बस्ने १९ वर्षीया इनिमाया राई, कुसुन्ती बस्ने २५ वर्षीया निमा लामा. उदयपुरकी १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगा घर भई जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीका २१ वर्षीय अरूण मगर र ३७ वर्षीय शंकर कार्की रहेका छन्।
यस्तै धादिका ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही घर भई कालिमाटी बस्ने ३० वर्षीय राजिब पाख्रीन, रामेछाप घर भई बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, कुसुन्तीका २४ वर्षीय उमेश लामा, रामेछाप घर भई एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुर घर भई कुसुन्ती बस्ने २४ पर्षीय कुमार दनुवार राईलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
रामेछाप घर भई एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर, काभ्रे घर भई सातदोबाटो बस्ने २३ वर्षीय दिपक घोरासैनी र इमाडोल बस्ने ३० वर्षीय दिपेन्द्र खड्का पनि प्रहरी नियन्त्रणमा छन्। पक्राउ परेका सबै माथि ‘अभद्र व्यवहार’ मुद्दामा अनुसन्धान गरिरहेको छ।