एजेन्सी – डच लिजेन्ड राफेल भान डेर भार्टले प्रिमियर लिग क्लब लिभरपुल छाडेर जर्जिनियो विजनाल्डमले ठूलो गल्ती गरेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा भार्टले लिभरपुल छाडेर विजनाल्डमले ठूलो गल्ती गरेको बताएका हुन्।
विजनाल्डमको अवस्था बारे टिप्पणी गर्दै भार्टले लिभरपुलको सट्टा पेरिस सेन्ट जर्मेन(पिएसजी) रोज्नु गलत निर्णय भएको बताए। खेल जीवनमा सहि निर्णय गर्नु धेरै महत्वपूर्ण हुने भार्टको भनाई छ।
त्यसक्रममा उनले अर्का डच खेलाडी स्टेभेन बर्घुइसले फेयेनुर्ड छाड्दा आयक्स रोजेको र सो निर्णय सहि सावित भएको बताउन छुटाएनन्। उनले भने,”विजनाल्डमले पिएसजी छानेर गल्ती गरे। जबकि स्टेभेन बर्घुइसले उत्कृष्ट छनौट गरे। फेयेनुर्डबाट आयाक्स जाने उनको निर्णय धेरै राम्रो थियो। सायद विजनाल्डमले अहिले सहि छनौट गर्नु किन महत्त्वपूर्ण छ भनेर बुझे होला।”
विजनाल्डमले सन् २०१६ देखि लिभरपुलमा खेलेका थिए। लिभरपुलमा रहेर उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, क्लब विश्वकप जस्ता उपाधि जितेका थिए। तर सम्झैता सकिएपछि विजनाल्डमले पिएसजी जाने निर्णय गरेका थिए। फ्री ट्रान्सफरमा पिएसजी पुगेपछि विजनाल्डमले पहिला जस्तो प्रदर्शन गर्न सकेका छैनन्।
फ्रेन्च लिग वानले उनले पिएसजीका लागि २४ खेल खेलेका छन्। जसमा उनले मात्रै एक गोल गरेका छन्। विजनाल्डम पिएसजीमा असन्तुष्ट रहेको बताइन्छ। उनी आफैंले पनि घुमाउरो पारामा पिएसजीमा सन्तुष्ट हुन नसकिरहेको बताइसकेका छन्।

