काठमाडौँ – नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक(डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिपद् बैठकले तीन डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरिएकाहरुमा वसन्तकुमार पन्त, धरिजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक रहेका छन्। उजुरी छानबिन गर्न गठित समितिले बढुवाको सिफारिस प्रक्रियासम्मत रहेको ठहर गर्दै बुधबार पत्र पठाएपछि तीनैलाई एआईजीमा बढुवा गरिएको हो।
गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ गते डीआईजीहरू पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
बढुवा सिफारिस गरिएकाहरु विरुद्ध वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै चैत १३ गते तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले उजुरी दिएका थिए। तर उजुरी सुनुवाइ समितिले बढुवामा कुनै पनि त्रुटी नरहेको दावी गर्यो। सोसँगै बढुवाको बाटो खुल्यो।
बढुवा भएकामध्ये पन्तले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् भने धानुक र सिंहको सेवा अवधि २०७९ चैतसम्म रहेको छ। यससँगै नेपाल प्रहरीमा एआईजीको दरबन्दी ८ पुगेको छ।

