चल्यो बेन्जेमाको जादू, बार्सिलोना भन्दा रियल १५ अंक अगाडी !

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोलमा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । रियलले सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ को जित निकालेको हो ।

एवान्का वालाइडोस भिगो स्पेनमा शनिबार राति भएको खेलमा घरेलु टोलीका नोलिटोले एक गोल फर्काए । खेलको १९औं मिनेटमा बेन्जेमाको पेनालटी गोलबाट रियलले सुरुवाती अग्रता लिन सफल भयो । नोलिटोले इडर मिलिसाओमाथि फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेन्जेमा चुकेनन् ।

३९औं मिनेटमा थियागो गलहार्डाेले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा घरेलु टोली सेल्टा बराबरीबाट चुक्यो । उक्त गोलको मुभमा इगो आसपास अफसाइड देखिएको थियो । ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जाभी गलानको पासलाई सदुपयोग गरेका थिए ।

६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले पनि खेलमा अग्रता लिने अवसर खेर फाल्यो । रोड्रिगोमाथि मुरिल्लोले फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा बेन्जेमाको पेनाल्टीलाई डिटुरोले बचाए ।

७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे । पेनाल्टी बक्समा केभिन भाज्क्वेजले फर्लान मेन्डीलाई फउल गरेपछि रेफ्रीले रियललाइै एकै खेलमा तेस्रो पेनाल्टी प्रदान गर्दा यसपटक बेन्जेमा चुकेनन् ।

यो जितसँगै रियलले यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक पुगेको छ । रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको म्याड्रिडलाई १२ अंकले पछि पारेको छ ।

एक खेल कम खेलेको सेभिया र समान खेल खेलेको एट्लेटिकोको ५७ अंक छ । पराजित सेल्टा ३६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, चैत २०, २०७८१०:४४

रोनाल्डो बिनाको युनाइटेड चिप्लियो, शिर्ष चारमा पुग्ने सम्भावना न्युन !