मेस्सी र नेयमार पछि पालो रामोसको, पिएसजी समर्थक नै हुटिङमा उत्रिए !

एजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी)का समर्थकहरु क्लब च्याम्पियन्स लिगबाट आउट भएको पिडाबाट अझै बाहिर आउन सकिरहेका छैनन्। पहिलो लेगमा जितेर पनि दोस्रो लेगमा रियल म्याड्रिड विरुद्ध नमिठो हार बेहोर्दै क्लब बाहिरिएपछि लगातार पिएसजी समर्थकहरुले आक्रोश पोखिरहेका छन्।

लियोनेल मेस्सी र नेयमार जस्ता खेलाडी समेत पिएसजी समर्थकको निशानामा परिसकेका छन्। मेस्सी र नेयमार विरुद्ध पिएसजी समर्थकले हुटिङ नै गरेका थिए। यसै बीच पिएसजीका अर्का एक खेलाडी पनि पिएसजी समर्थककको निशानामा परेका छन्।

पिएसजी समर्थकको आक्रोशको निशानामा पछिल्लो पटक यसै सिजन पिएसजी आएका सर्जियो रामोस परेका हुन्। आइतबार राति पिएसजीले लोरिएन्ट विरुद्ध खेल्दा रामोस विरुद्ध हुटिङ भयो।

पिएसजीले लोरिएन्ट विरुद्ध खेल्दा रामोस वैकल्पिक खेलाडीको रुपमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। प्रशिक्षक माउरिसियो पोचेटिनोले उनलाई माक्विनहोसको स्थानमा रामोसलाई मैदान प्रवेश गरेका थिए।

रामोस मैदान प्रवेश गर्ने बितिकै पिएसजी समर्थकले उनी विरुद्ध हुटिङ गरे। पिएसजी समर्थक त्यतिमा मात्र रोकिएनन्। रामोसले बल छुँदा समेत उनीहरुले ‘बू’ गर्दै हुटिङ गरे।

रामोस दुई महिना पछि आइताबार मैदान फर्किएका हुन्। पछिल्लो पटक रामोस दुई महिना अगाडी घाइते भएका थिए। यस बीचमा उनले च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको महत्वपूर्ण खेल समेत गुमाएका थिए। पिएसजी पुगेयता नै रामोस लगातार घाइते हुँदै आएका छन्।

प्रकाशित : सोमबार, चैत २१, २०७८१७:५३

एकाएक बदलियो एम्बाप्पेको मन !