जर्मन लेजेण्ड भन्छन् – ‘मेस्सी जस्तो खेलाडी माथि पिएसजीमा भइरहेको व्यवहार देख्दा भक्कानो छुट्छ’

एजेन्सी – जर्मन फुटबल लिजेन्ड कार्ल-हेन्ज रुम्मेनिगेले लियोनेल मेस्सी जस्तो खेलाडी माथि नराम्रो व्यवहार भएको देखेर धेरै दुख लागेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रुम्मेनिगेले मेस्सी जस्तो खेलाडी विरुद्ध पेरिस सेन्ट जर्मेन(पिएसजी)का समर्थकले हुटिङ गर्दा धेरै दुख लागेको बताएका हुन्।

फ्रेन्च मिडिया ले इक्विपलाई अन्तर्वार्ता दिँदै रुम्मेनिगेले मेस्सी माथि पिएसजीमा भइरहेको व्यवहार बारे खुलेर कुराकानी गरे। त्यसक्रममा उनले मेस्सी जस्तो खेलाडी माथि नराम्रो व्यवहार हुँदा भक्कानो छुट्ने बताए।

उनले मेस्सी पिएसजीमा सन्तुष्ट नदेखिएको बताउन पनि छुटाएनन्। मेस्सीले पिएसजीमा कम्जोर शुरुवात गरेपनि मेस्सीले लय समातिरहेको उनको भनाई छ। रुम्मेनिगे बायर्न म्युनिखका पूर्व महानिर्देशक समेत हुन्।

“यो स्पष्ट छ कि मेस्सी पिएसजीमा खुसी छैनन्। उनी पिएसजीमा सन्तुष्ट नरहेको स्पष्ट देखिन्छ। तर पछिल्लो समय उनले गति लिइरहेको देखिन्छ।”,रुम्मेनिगेले भने।

रुम्मेनिगेले खेलजीवनमा खेलाडीहरु यस्ता पलहरुबाट गुज्रने भएपनि मेस्सी जस्तो खेलाडीले यस्तो व्यवहार भोग्न नहुने बताए। रुम्मेनिगेका अनुसार मेस्सीलाई पिएसजीका समर्थकले आलोचना गरेको देख्दा उनलाई गत वर्ष पिएसजीमा मेस्सीलाई स्वागत गरिएको पल याद आउँछ।

उनले भने,”मलाई याद छ कि गत गर्मीमा पेरिसका फ्यानहरूले उनलाई अविश्वसनीय रूपमा स्वागत गरेका थिए। उनीजस्तो खेलाडी माथि यस्तो व्यवहार हुन हुँदैनथ्यो। जब म यस्ता दृश्य देख्छु, मेरो मुटुबाट रगत बग्छ।”

प्रकाशित : सोमबार, चैत २१, २०७८१८:०२

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै ! कुन खेल कुन च्यानलमा हेर्ने ?