आर्सनलको लज्जास्पद हार, शिर्ष चार उक्लिने मौका गुम्यो !

एजेन्सी – शीर्ष चारको दौडमा रहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । आर्सनल घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो ।

आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

सेलह्रस्ट पार्क लन्डनमा सोमबार राति भएको खेलको १६औं मिनेटमा जिन फिलिपे मटेटाले गोल गर्दै घरेलु टोली क्रिस्टललाई १–० को अग्रता दिलाए । उनले जोआचिम एन्डरसनको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा जोआचिम एन्डरसनकै पासमा जोर्डन एयुले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको जित पक्का गरे । मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा जाहालाई फउल गरेपछि रेफ्रीले क्रिस्टल प्यालेसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जाहा चुकेनन् ।

घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा आर्सनलले फराकिलो हार बेहोर्न पुग्यो । घरेलु टोलीले भने पाएको अवसरलाई सदुपयोग गर्दै जित निकाल्न सफल भयो ।

यो जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत रहेको छ । समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि छ ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८०८:१७

अर्को म्यानचेस्टरलाई पछार्ने एट्लेटिकोको योजना सफल होला ?