एजेन्सी – ला लिगाका पूर्व फरवार्ड जाभियर साभियोला फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको स्थान लिनेमा विश्वस्त छन्। साभियोलाका अनुसार क्रमिक रुपमा एम्बाप्पे विश्वको सबै भन्दा उत्कृष्ट खेलाडीको रुपमा उदाउने छन्।
एक मिडियासंग कुराकानी गर्नेक्रममा साभियोलाले एम्बाप्पे दिनप्रतिदिन निखारिने क्रममा रहेको र उनले नै मेस्सी र रोनाल्डोको स्थान लिने बताए। एम्बाप्पे मेस्सी र रोनाल्डो पछि विश्वको उत्कृष्ट खेलाडीको रुपमा अगाडी बढ्ने साभियोलाको भनाई छ।
मेस्सी र रोनाल्डोले खेल्न छाडेपनि अन्य खेलाडी आउने सम्भावना रहेपनि विश्वको उत्कृष्ट खेलाडीको रुपमा अगाडी बढ्ने स्पष्ट सङ्केत देखा परिसकेको साभियोला बताउँछन्।
“हामी के हुन सक्छ भनेर कुरा गर्दैछौं। जब लियो, क्रिस्टियानो र यो पुस्ताले खेल्न बन्द गर्नेछ, विश्वको उत्कृष्ट खेलाडीको रुपमा एम्बाप्पे अगाडी आउनेछन्। एम्बाप्पे अहिले देखि नै विश्वको उत्कृष्ट खेलाडी बन्ने बाटोमा छन्। एम्बाप्पेमा दिनप्रतिदिन सुधार देखिइरहेको छ। एम्बाप्पेले आफूलाई निरन्तर अगाडी बढाइरहेका छन्। यो विश्वको सबै भन्दा उत्कृष्ट बन्ने संकेत हो।”,साभियोला भन्छन्।
एमबाप्पे पक्कै पनि पछिल्लो समय, विशेष गरी यो सिजनमा धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। पिएसजीमा लियोनेल मेस्सी र नेयमार जस्ता खेलाडी भएर पनि उनलाई खासै फरक परेको छैन। एम्बाप्पे यी दुवै खेलाडी मात्र नभई रोनाल्डोलाई पनि छायाँमा पार्ने प्रदर्शन गरिरहेका छन्। एम्बाप्पेले जारी सिजनमा पिएसजीका लागि ३८ खेल खेलेका छन्। जसमा उनले २८ गोल गर्दै २० असिस्ट दिसकेका छन्।

