एजेन्सी – आर्सनल लेजेण्ड थियरी हेनरीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्पेनिस महारथी रियल म्याड्रिडले चेल्सीलाई पराजित गर्ने अनुमान गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा थियरी हेनरीले क्वाटरफाइनलमा रियलले चेल्सीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने अनुमान लगाएका हुन्।
एक टेलिभिजन कार्यक्रममा बीच उनलाई च्याम्पियन्स लिगका बारेमा भविष्यवाणी गर्न भनियो। जसक्रममा उनले गत सिजन हारेपनि यस सिजन रियलले चेल्सीको चुनौतीलाई पाखा लगाएर अगाडी बढ्ने बताए। गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र चेल्सीको भेट भएको थियो।
त्यसबेला रियल समग्रमा १-३ को गोल अन्तरले चेल्सीसँग पराजित भएको थियो। च्याम्पियन्स लिगको जारी सिजनको क्वाटरफाइनलमा आज चेल्सी र रियल आमने-सामने हुँदैछन्। समग्रमा रियलले जित निकाल्ने हेनरीको अनुमान छ।
उनका अनुसार रियलका अलावा बायर्न म्युनिख, म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल रियलको भेट म्यानचेस्टर सिटीसँग हुने र लिभरपुलको भेट बायार्नसँग हुने हेनरीले बताए।
पहिलो लेगमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भइसकेका छन्। गत राति भएको खेलमा लिभरपुलले बेन्फिकालाई ३-१ को गोल अन्तरले पराजित गर्दा सिटीले एट्लेटिकोलाई १-० को गोल अन्तरले पराजित गर्यो।

