एजेन्सी – इंग्लिस प्रिमियर लिगमा घरेलु टोली बर्नलेले एभर्टनमाथि रोमाञ्चक जित निकालेको छ । बर्नलले एभर्टनलाई ३–२ ले पराजित गरेको हो ।
टर्फ मुरमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा नाथन कोलिन्स, जे रोड्रिग्वेज र म्याक्सवेल कर्नेटले गोल गरे । एभर्टनका लागि दुवै गोल रिचार्लीसनले गरेपनि हार टार्न सकेन ।
खेलको १२औं मिनेटमा नाथन कोलिन्सको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले म्याक्सवेल कर्नेटको पासमा गोल गरेका थिए । १८औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४१औं मिनेटमा रिचार्लीसनको पेनाल्टी गोलबाट एभर्टनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।
तर, त्यो अग्रतालाई एभर्टनले दोस्रो हाफमा जोगाउन सकेन । ५७औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले चार्ली टेलरको पासमा गोल गरेका थिए । त्यसपछि ८५औं मिनेटमा म्याक्सवेल कर्नेटले माटिजको पासमा गोल गर्दै बर्नलेलाई रोमाञ्चक जित दिलाए ।
यो जितसँगै बर्नले २९ खेलबाट २४ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ । पराजित एभर्टन २५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।