एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमार जारी सिजनमा कम्जोर लयमा छन्। सिजनको शुरुवातमै राम्रो प्रदर्शन गर्न नसकेका उनी सिजनको बीचमा घाइते भए। घाइते भएका कारण उनले झन्डै दुई महिना मैदान बाहिर बिताए।
चोटमुक्त भएर फर्किएपछि पनि नेयमारको प्रदर्शन त्यति खास छैन। मैदानमा मात्र नभई मैदान बाहिर पनि नेयमारको व्यवहार त्यति राम्रो छैन। नेयमार बेला-बेलामा विवादमा परिरहेका हुन्छन्। जारी सिजनमा कुल २२ खेल खेल्दा उनले मात्रै ७ गोल गरेका उनीसँग पिएसजीका अधिकारीहरुका साथ-साथै दोहा समेत असन्तुष्ट रहेको बताइन्छ।
नेयमारको व्यवहारका कारण दोहा दिक्क भएको फ्रेन्च मिडियाहरु बताउँछन्। क्लबका कतारी लगानीकर्ताहरुलाई नेयमारको पछिल्ला क्रियाकलापसँग धेरै गुनासो छ। नेयमारलाई पेरिसको फुटबल भन्दा पनि बढी फेसनले छोएको भन्दै दोहा असन्तुष्ट भएको फ्रेन्च मिडिया ले इक्विपले जनाएको छ। ले इक्विपका अनुसार नेयमारलाई भित्र्याएर ठूलो गल्ती गरेको दोहाको निष्कर्ष रहेको छ।
“फ्रान्सेली क्लबका लगानीकर्ताहरुलाई नेयमारमा गरेको खर्च बेकार गएको महसुस गरिरहेका छन्। उनीहरुलाई धोका भएको महसुस भएको छ।”,ले इक्विपले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
पिएसजीले नेयमारलाई सन् २०१७ मा कीर्तिमानी रकम तिरेर भित्र्याएको थियो। नेयमारलाई भित्र्याउन पिएसजीले २ सय २२ मिलियन युरो खर्च गरेको थियो। पारिश्रमिक सहित पिएसजीले पाँच सिजनमा पिएसजीले झन्डै ५ सय मिलियन युरो खर्च भइसकेको छ।