समर्थक माथि रिस पोखेका रोनाल्डोले अन्ततः मागे माफी ! के भने ?

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले माफी मागेका छन्। शनिबार साँझ एभर्टनविरूद्ध पराजित भएपछि एक समर्थकको फोन तोडेको भिडियो सार्वजनिक भएपछि रोनाल्डोले सामाजिक संजाल मार्फत माफी मागेका हुन्।

सामाजिक संजाल मार्फत माफी माग्दै रोनाल्डोले कठिन क्षणहरूमा भावनालाई नियन्त्रणमा राख्न असमर्थ भएको बताएका छन्। फुटबल मन पराउने युवाहरुका माझ उदाहरण बन्नुपर्ने भएपनि भावनालाई नियन्त्रणमा राख्न नसकेर त्यस्तो हुन पुगेको रोनाल्डोको संकेत छ।

“हामीले सामना गरिरहेको जस्तो कठिन क्षणहरूमा भावनाहरूसँग व्यवहार गर्न यो कहिल्यै सजिलो हुँदैन। यद्यपि, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि प्रेरणा बन्नुपर्छ।”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।

रोनाल्डोले आक्रोशको लागि माफी माग्दै फोन फुटेका समर्थकलाई ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित समेत गरेका छन्। उनले लेखेका छन्,”म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र, यदि सम्भव छ भने, म यो समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु।”

शनिबार राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्द भएको थियो। खेलभर कयौं प्रयास गरेपनि गोल गर्न नसकेका क्रिस्टियानो रोनाल्डो खेल पश्चात धेरै नै आक्रोशित देखिए। त्यसक्रममा उनी एक प्रशंसकको फोन तोड्न पनि पछि परेनन्।

रोनाल्डोको सो कार्यको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। एभर्टनसँग हारेपछि मैदानबाट निस्कने क्रममा रोनाल्डोले आक्रोशित हुँदै समर्थकको फोन फुटाइदिएको भिडियोमा स्पष्ट देखिन्छ।

प्रकाशित : आइतबार, चैत २७, २०७८११:१६

टोटेनहमको सानदार जित, युनाइटेड र आर्सनल पछारिए !