काठमाडौँ – सत्तारूढ पाँच राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका राजनीतिक दलसँग सहमतिका साथै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू टुंगो लगाउन थालिसकेका बेला चुनावी तालमेलको मोडालिटी बनाउनसमेत असफल सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताले अपिल जारी गर्दै मिलेर अघि बढ्न आह्वान गरेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनका नेताहरूको बैठकले विगतका मतभेद पन्छाउँदै स्थानीय तहको निर्वाचनमा मिलेर अघि बढ्ने प्रण गरेको छ। सबैलाई सहमतिको भावनाअनुसार अघि बढ्न नेताहरूले आग्रह गरेका छन्।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गर्दै स्थानीय तह निर्वाचनमा उत्साहजनक सहभागितासहित सफल पार्न पनि आग्रह गरेका छन्।
उनीहरूले सत्ता गठबन्धनमा रहेका पाँच दलका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा अमूल्य मत दिई विजयी गराउन पनि सबैसँग अपिल गरेका छन्।
‘हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्छाैं,’ शीर्ष नेताहरूको संयुक्त अपिलमा भनिएको छ, ‘त्यसका लागि देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं।’