एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज बायर्न म्युनिखले भिल्लारियलको सामना गर्दैछ। पहिलो लेगमा पराजित भएको बायर्नले आज राति घरेलु मैदानमा भिल्लारियलको सामना गर्न लागेको हो।
युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नले हार बेहोरेको थियो। भिल्लारियलको घरेलु मैदानमा बायर्न गोल गर्न चुकेको थियो। खेलको शुरुमै एर्नाउट डानजुमाले गरेको गोल नै निर्णायक बनेको थियो।
खेलभर बायर्नले बलमा ६२ प्रतिशत नियन्त्रण राखेको थियो। भिल्लारियल विरुद्ध बायर्नको तर्फबाट कुल २२ प्रहार भएका थिए। जस मध्ये ४ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहारलाई बायर्नले गोलमा परिणत गर्न सकेको थिएन। तर भिल्लारियलले भने खेलभर मात्रै १२ प्रहार गरेको थियो। जसमध्ये एक प्रहार मात्र टार्गेटमा थियो, सो प्रहार गोलमा परिणत भएको थियो।
च्याम्पियन्स लिगको दाबेदार मध्ये एक रहेको बायर्न आजको खेलमा जित्नै पर्ने दबावमा हुनेछ। सेमिफाइनलमा पुग्न आजको खेलमा बायर्नले भिल्लारियललाई कम्तीमा दुई गोलले पराजित गर्नपर्नेछ। त्यस्तै भिल्लारियलले भने बायर्नलाई बराबरीमा रोक्न सके मात्र पनि सेमिफाइनलमा स्थान बनाउनेछ।
बायर्न र भिल्लारियल बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन १ मा हेर्न सकिनेछ।