एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज राति रियल म्याड्रिडले चेल्सीको आथित्यता गर्दैछ। सान्टियागो बर्नाबेउमा रियलले मंगलबार राति चेल्सीको स्वागत गर्न लागेको हो।
पहिलो लेगमा बेहोरेको हारको बदला लिने दाउमा चेल्सी हुँदा रियल भने घरेलु मैदानको फाइदा उठाउने योजनामा हुनेछ। पहिलो लेगमा रियलले चेल्सीलाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। त्यसबेला रियलका लागि बेन्जेमा एक्लैले तीन गोल गरेका थिए भने चेल्सीका लागि काई हाभर्टजले एक गोल गरेका थिए।
साविक युरोपियन च्याम्पियन चेल्सीसँग उपाधि रक्षाका लागि अब एक मौका मात्रै बाँकी छ। रियल म्याड्रिडको घरेलु मैदानमा चेल्सी गर या मरको अवस्थामा हुनेछ। च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्न चेल्सीले मंगलबार राति रियल म्याड्रिड विरुद्ध कम्तिमा तीन गोल गर्नुपर्नेछ र रियललाई कुनै पनि गोल गर्नबाट रोक्नुपर्नेछ।
पहिलो पटक सान्टियागो बर्नाबेउमा खेल्दै चेल्सी
सान्टियागो बर्नाबेउ रियलको ऐतिहासिक स्टेडियम हो। यहाँ कयौं ठूला भनिएका क्लबहरुले घुँडा टेकिसकेका छन्। रियलले च्याम्पियन्स लिगको यसै सिजनमा पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्तो टोलीलाई समेत बर्नाबेउमा घुँडा टेक्न बाध्य बनाएको थियो।
गत सिजन चेल्सीको सामना गर्दा रियलले क्लबको दोस्रो स्टेडियमको प्रयोग गरेको थियो। मुख्य स्टेडियम सान्टियागो बर्नाबेउ मर्मतमा रहेका कारण रियलले दोस्रो मैदान प्रयोग गरेको थियो।
तर मर्मतको कार्यपश्चात सान्टियागो बर्नाबेउ प्रयोगमा आइसकेको छ। चेल्सीले अहिले सम्म बर्नाबेउमा रियलको कहिल्यै सामना गरेको छैन। आज रियल विरुद्ध मैदानमा उत्रँदा चेल्सी पहिलो पटक बर्नाबेउमा खेल्नेछ।

