रियलको फेरी बेन्जेमाले गरे उद्धार, हारे पनि रियल सेमिफाइनलमा !

एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपछि समग्रमा ५–४ को अग्रतामा रियल अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३-१ ले हराएको थियो ।

रियलको सेमिफाइनल यात्रामा फेरि एक पटक बेन्जेमा नायक बनेका छन् । समग्रमा ४–४ को बराबरीपछि थप समयमा बेन्जेमाले गोल गरेका थिए । थप समयको छैटौं मिनेटमा बेन्जेमाले हेडमार्फत गोल गरेका थिए । भिनिसियस जुनियरले उपलब्ध गराएको क्रसमा उनले नजिकबाट हेड गोल गरेका थिए ।

एक समय प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको रियललाई रोड्रिगोले जीवनदान दिएका थिए । ३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । लुका मोड्रिचको पासमा परिवर्तित रोड्रिगोले गोल गरेका थिए । मासन माउन्टको गोलबाट चेल्सीले १५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।

५१ औं मिनेटमा एन्टोनियो रुडिगरको हेडगोलमा चेल्सीले अग्रतालाई दोब्बर बनाएको थियो । त्यो गोलले चेल्सीले खेलमा गोलऔसतमा ३–३ को बराबरी गरेको थियो । टिमो वार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीले अन्तिम चारमा पुर्याउने सम्भावना बलियो बनाएका थिए ।

तर, ८० औं मिनेटमा खेललाई रोड्रिगोले रियलका लागि गोल गरेपछि खेलले नाटकिय मोड लिएको थियो । उनको गोलबाट खेल थप समयमा धकेलिएको थियो । जहाँ फेरि एकपटक बेन्जेमा चम्केका छन् र टोलीलाई सेमिफाइनल पुर्याउन सफल भएका छन् । गत सिजन चेल्सीले सेमिफाइनलमा रियललाई हराएको थियो ।

प्रकाशित : बुधबार, चैत ३०, २०७८०६:३५

बायर्न म्युनिख च्याम्पियन्स लिगबाट ‘आउट’