एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतका दुई खेल आज राति हुँदैछन्। च्याम्पियन्स लिग क्वाटरफाइनलका अन्तिम दुई खेल आज राति हुने लागेका हुन्।
एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा एट्लेटिको र म्यानचेस्टर सिटी आमने-सामने हुँदा लिभरपुलले बेन्फिकाको आथित्यता गर्नेछ। दुवै खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
सिटीको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा एट्लेटिको १-० को गोल अन्तरले पराजित भएको थियो। सो खेलमा एट्लेटिको पूर्णतया रक्षात्मक रणनीति अपनाएको थियो। सो खेलमा बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले निर्णायक गोल गरेका थिए। एट्लेटिकोका लगभग सबै खेलाडी डिफेन्समा उत्रिएका कारण सिटीले गोल गर्न संघर्ष गर्न परेको थियो।
घरेलु मैदानमा भने एट्लेटिकोले के कस्तो रणनीति अपनाउँछ भन्ने कुरा हेर्न रोचक हुनेछ। सिटीको घरेलु मैदानमा भन्दा फरक रणनीति सहित एट्लेटिको उत्रने धेरैको अनुमान छ। एट्लेटिको र सिटी बीचको खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।
त्यस्तै बेन्फिकाको घरेलु मैदानमा पहिलो खेलमा लिभरपुल विजयी भएको थियो। सो खेलमा लिभरपुलको तर्फबाट तीन गोल हुँदा बेन्फिकाको तर्फबाट मात्रै १ गोल भएको थियो। लिभरपुलको जितमा इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले गोल गरेका थिए। बेन्फिकाका लागि एक मात्र गोल डार्विन नुनेजले गरेका थिए। लिभरपुल र बेन्फिका बीचको खेल भारतीय च्यानल सोनी टेन वानमा हेर्न सकिनेछ।

