च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई स्पेनिस र इंग्लिस टोली, कुन खेल कहिले ?

एजेन्सी – यो सिजन अर्थात २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार राति दुई इंग्लिस क्लबले सफलता हासिल गरेसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ ।

यसपटकको च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई स्पेनिस क्लब र दुई इंग्लिस क्लब सेमिफाइनलमा पुग्न सफल भएका छन् । अघिल्लो दिन दुई स्पेनिस क्लब भिल्लारियल र रियल म्याड्रिडले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा पछिल्लो दिन दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

मंगलबार राति स्पेनिस लालिगाको सातौ स्थानमा रहेको भिल्लारियलले जमैन महारथी बायर्न म्युनिखलाई समग्रमा २–१ ले पराजित गर्दै १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

यता, च्याम्पियन्स लिगको १३ पटकको च्याम्पियन रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई समग्रमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो लेगमा ३–१ को आरामदायी स्थितिमा रहेपनि दोस्रो लेगमा घरेलु मैदानमा ३–२ ले पराजित भएपनि रियल अघिल्लो चरणमा पुग्न सफल भयो । चेल्सीले दोस्रो लेगमा पूनरागमन प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो लेगमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाको पूनरागमनलाई रोक्दै ३–३ गोलको बराबरीमा समग्रमा ६–४ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो लेगमा लिभरपुल ३–१ ले अघि रहेको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीका लागि ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे । पहिलो लेगमा हार भोगेका कारण बेन्फिका अघिल्लो चरण पुग्नबाट वञ्चित रह्यो ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरीमा रोकिएपनि पहिलो लेगको १–० को जितले सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित ९० मिनेटपछि तनावपूर्ण बनेको खेलमा घरेलु टोली एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो ।

अब सेमिफाइनलमा लिभरपुल र भिल्लारियल तथा म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ। सिटी र रियल म्याड्रिड बीचको पहिलो लेग नेपाली समय अनुसार २७ अप्रिलमा हुनेछ। लिभरपुल र भिल्लारियल बीचको पहिलो लेग अप्रिल २८ मा हुनेछ। त्यस्तै दोस्रो लेगका खेलहरुमा भिल्लारियल र लिभरपुल बीचको खेल मे ४ मा र रियल म्याड्रिड र सिटी बीचको खेल मे ५ मा हुनेछ। फाइनल भने २९ मेमा हुनेछ ।

(खेल हुने तारिख नेपाली अनुकुल राखिएको छ)

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१०:३०

बार्सिलोना युरोपा लिगको सेमी-फाइनलमा पुग्ला ? कुन च्यानलमा हेर्ने खेल ?