प्रचण्डले भने – ‘केहि समय पाएको भए एमाले हाम्रो हुन्थ्यो’

काठमाडौँ – सत्ता गठवन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फुटेका कारण एमालेलाई कब्जा गर्न नसकिएको खुलासा गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले माओवादी फुटेका कारण एमाले आफ्नो हुन नसकेको खुलासा गरेका हुन्।

प्रचण्डका अनुसार नेकपा एमालेसँग पार्टी एकीकरण गरेपश्चात माओवादी विभाजित नभएको भए नेकपा फुट्दैनथ्यो। नेकपा बनाएपछि माओवादीमा विभाजन नआएको भए आफूहरुको हैसियत त्यहाँ ६० प्रतिशत हुने प्रचण्डको भनाई छ।

“हामीले एकता गर्दा माओवादी नफुटेको भए सायद हाम्रो ६० प्रतिशत र एमालेको ४० प्रतिशत हुँदा पार्टी पनि हाम्रै हुन्थ्यो, नेकपा पनि फुट्दैनथ्यो।”,काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्डले भने।

त्यसक्रममा प्रचण्डले एमालेका नेताहरु पनि आफ्नो पक्षमा देखिएपछि षड्यन्त्र शुरु भएको दावी पनि गरे। अहिले पनि एमाले नेताहरुले केही समय रोकेको भए प्रचण्डले पार्टी खाइसक्थे भन्ने गरेको प्रचण्डको भनाई छ।

उनले भएन,”मेरै अध्यक्षतामा नेकपाको दोस्रो बैठकमा एमालेका नेताहरुले पनि अबको हाम्रो नेतृत्व प्रचण्ड नै हो भन्नेमा पुगेपछि षड्यन्त्र शुरु भएको हो। एमाले नेताहरुले अहिले भन्ने गर्छन् नि, केही समय रोकेको भए त प्रचण्डले पार्टी खाइसक्थ्यो।”

यस्तै प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्नु कुनै गल्ती नभएको समेत बताए। नेकपा एमालेसँग एकता प्रस्ताव आफैंले लगेको प्रचण्ड बताउँछन्। आन्दोलनलाई बचाउने र यसलाई परिवर्तनको बाहक बनाउन कम्युनिष्ट आन्दोलनलाई एक ठाउँ लैजान आफूले एकताको प्रस्ताव गरेको प्रचण्डको भनाई छ।

“आन्दोलनलाई बचाउने र यसलाई परिवर्तनको बाहक बनाउन कम्युनिष्ट आन्दोलनलाई एक ठाउँ लैजान मेरो नै प्रस्तावमा एमालेसँग एकता भएको थियो। तर एकता कतिबेला त्यो दुर्घटनामा पर्यो म व्याख्या गर्दिनँ। एमालेको ठूलो तप्का माओवादी आन्दोलन स्वीकार्ने पक्षमा गएको थियो। माओवादीले नै देशमा जागरण ल्याएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको भन्ने भइसकेको थियो।”,उनले भने।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१६:४०

‘सूर्य’ चिन्ह बिक्री भएको जस्तो लागेपछि कड्किए भीम रावल, ओलीलाई तेर्स्याए प्रश्नै प्रश्न !