उपाधि जित्ने एक मात्र अवसर पनि बार्सिलोनाले गुमायो, उपाधिविहिन् हुने पक्का !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना जारी सिजनमा उपाधिविहिन् हुने अन्ततः पक्का भएको छ। बिहिबार राति युरोपा लिगबाट बाहिरिएसँगै बार्सिलोना जारी सिजनमा उपाधिविहिन् हुने लगभग पक्का जस्तै भएको हो।

बिहिबार राति युरोपा लिग क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा बार्सिलोना आइनट्राख्ट फ्रान्कफुर्टसँग ३–२ को गोल अन्तरले पराजित भयो। बलमा नियन्त्रण राखेपनि बार्सिलोनाले फ्रान्कफुर्ट विरुद्ध खुलेर आक्रमण गर्न सकेन।

खेलभर बार्सिलोनाले बलमा ७५ प्रतिशत नियन्त्रण राखेको थियो। तर बार्सिलोनाले फ्रान्कफुर्टको पोस्टमा कम मात्रै प्रहार गर्यो। बार्सिलोनाले खेलभर कुल १० प्रहार गरेको थियो। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। तर फ्रान्कफुर्टले भने खेलभर १५ प्रहार गरेको थियो भने ७ प्रहार टार्गेटमा थिए।

बार्सिलोनाले पहिलो लेगमा फ्रान्कफुर्टसँग १-१ को बराबरी खेलेको थियो। बिहिबार पराजित भएसँगै बार्सिलोना समग्रमा ४–३ ले पराजित हुँदै युरोपा लिगबाट बाहिरियो।

बार्सिलोनाका लागि युरोपा लिग उपाधि जित्ने अन्तिम प्रतियोगिता थियो। यस अगाडी बार्सिलोना च्याम्पियन्स लिग, कोपा डेल रे, स्पेनिस सुपरकप जस्ता प्रतियोगिताहरुबाट बाहिरिसकेको छ।

त्यस्तै बार्सिलोना लालिगाको उपाधि होडमा पनि अंक गणितीय रुपले मात्रै छ। लालिगामा बार्सिलोना शिर्ष स्थानको रियल म्याड्रिड भन्दा १२ अंकले पछाडी छ। एक खेल बढी खेलेको रियलको ७२ अंक छ भने बार्सिलोनाको ६० अंक छ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९०८:४०

राफयल सान्तोषको यो उत्कृष्ट गोल, जसले बार्सिलोनाको सपना चकनाचुर पार्यो ! [भिडियो सहित]