एजेन्सी – बिहिबार राति क्याटलान क्लब युरोपा लिगको सेमिफाइनल पुग्ने योजना सहित घरेलु मैदानमा जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्ट विरुद्ध उत्रियो। पहिलो लेगको खेल बराबरीमा टुंगिएको कारण बार्सिलोना जित निकाल्ने योजना सहित मैदानमा उत्रिएको थियो।
तर खेल बार्सिलोनाले अपेक्षा गरे भन्दा फरक ढंगले अगाडी बढ्यो। खेलको शुरुवातमै बार्सिलोनाले गोल बेहोर्यो। खेलको चौंथो मिनेटमै फ्रान्कफुर्टले पेनाल्टीको अवसर पायो। जसलाई फिलिप कोस्टिकले गोलमा परिणत गरे। एरिक गार्सियाले पेनाल्टी बक्समा जस्पर लिन्डस्ट्रमलाई फउल गरेपछि रेफ्रीले फ्रान्कफुर्टलाई पेनाल्टी प्रदान गरिएको थियो।
खेलको शुरुवातमै पछि परेको बार्सिलोनाको समस्या त्यति बेला बढ्यो, जब राफयल सान्तोष बोर्रेले उत्कृष्ट गोल गरे। मिडफिल्डमा पाएको बललाई अगाडी बढाएर बोरले बार्सिलोनाका डिफेन्डरहरुले प्रतिक्रिया जनाउने अवसर पाउनु भन्दा अगाडी नै बललाई गोलपोस्ट तर्फ पठाएका थिए।
पेनाल्टी बक्स भन्दा बाहिरैबाट उनले गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षकले बचाउन सकेनन्। बोरपछि फिलिपले पनि गोल गरे। फिलिपले दाइची कामदाको पासमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। फिलिपले दुई गोल गरेपनि उत्कृष्ट गोल गरेपनि यति बेला चर्चा भने बोर्रेको भइरहेको छ।