मेष राशि

मेष राशि हुनेहरूका लागि वर्ष २०७९ मध्यम रूपमा बित्नेछ। पद प्रतिष्ठाका साथै आर्थिक पक्ष पनि यस वर्ष राम्रो हुनेछ। शनि, बृहस्पति, राहु तथा केतुले गर्दा दुख, कष्ट, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा कमी आउने सम्भावना रहेको छ। शत्रु बढ्नेछन्। माघ महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनसक्छ।
यस राशिका मानिसको लागि २०७९ वर्ष आर्थिक धन फस्न सक्छ भने सेयरबजार, शिक्षाक्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानीले राम्रो सफलता दिन सक्छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल नमिल्न सक्छ। आर्थिक दृष्टिले असार, असोज र माघ महिना शुभ रहनेछ।
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद उत्पन्न हुनसक्छ। पैसाको कारणले आफन्त र नजिकका व्यक्तिसँगको सम्बन्धमा समस्या आउनसक्छ। वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुने सम्भावना देखिन्छ। नव दम्पतीका लागि सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ।
यो वर्ष शिक्षा क्षेत्र सामान्य नै रहनेछ। शनि बृहस्पति, राहु तथा केतुको गोचरको प्रभावले गर्दा विभिन्न क्षेत्रमा समस्या उत्पन्न हुनसक्छ। विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला। प्राविधिक क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ। वैदेशिक शिक्षामा जना प्रयास गरिरहेका मानिसले यस वर्ष सफलता प्राप्त गर्न सक्छन्।
यसपालि नयाँ लगानी, जागिर वा रोजगारले खासै अनुकूल सफलता नदिन सक्छ। वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष अनुकूल रहला। जागिरेलाई पदोन्नतीको सम्भावना प्रबल रहेको छ, शनि राहु र केतुको प्रभावले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ।
यो वर्ष स्वास्थ्यको हिसाबले भन्नु पर्दा चोटपटकको डर रहेको छ। मानसिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ। खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ।
वृष राशि

वर्ष २०७९ वृष राशिका मानिसको लागि मिश्रित रहने देखिन्छ। देवगुरु बृहस्पतिको गोचरको प्रभावले भने थुप्रै शुभ फल प्राप्त हुने सम्भावना रहेको छ। कुण्डलीमा शनि मजबूत हुनेछ, जसले पापी ग्रहको कष्ट भोग्नु पर्ने छैन। सुख-सुविधामा वृद्धि हुनेछ भने शिक्षा क्षेत्रमा यो वर्ष राम्रो समय बित्नेछ। राहुको प्रभावले बहने केहि नकारात्मक प्रभाव पनि पर्न सक्छ।
२०७९ साल यस राशिका मानिसको लागि व्यापार व्यवसायको हिसाबले कुरा गर्दा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। आफन्त तथा नजिकका मानिससँग भने आर्थिक लेनदेनको कारणले केहि मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ। आर्थिक दृष्टिले साउन, कार्तिक, कार्तिक र फाल्गुन महिना बढी राम्रो रहन सक्छ।
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता राख्नु पर्नेछ। विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ।
शिक्षाअ क्षेत्रमा यो वर्ष तपाईंको लागि राम्रो नै रहनेछ। यस वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै सफलता हासिल गर्न सक्छन्। अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउने देखिन्छ।
यो वर्ष नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्ने सम्भावना उच्च रहेको छ। सरकारी जागिरको लागि तयारी गर्ने मानिसले निकै परिश्रम गर्नुपर्ने देखिन्छ। सामाजिक र राजनैतिक क्षेत्रमा रहेका मानिसहरुले यो वर्ष सफलता प्राप्त गर्नेछन्।
स्वास्थ्यको हिसाबले भने यो वर्ष त्यति खास नरहला। स्वास्थ्यमा समस्या बढ्न सक्नेछ। हड्डी सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ। नियमित खान-पानमा विशेष ध्यान दिन आवश्यक रहेको छ।
मिथुन राशि

२०७९ साल मिथुन राशिका मानिसलाई सामान्य रहने देखिन्छ। राहुको गोचरले नयाँ कार्यको थालनी हुने सम्भावना रहेको छ। रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्न सक्छन्। स्वास्थ्य प्रतिकूल रहनसक्छ।
यो वर्ष मिथुन राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्ने सम्भावना उच्च रहेको छ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने देखिन्छ। प्राविधिक क्षेत्रमा गरिएको लगानीले सफलता दिनसक्छ। सेयर बजारमा लगानी गर्नु शुभ रहन्छ। आर्थिक दृष्टिले वैशाख, भाद्र, र मंसिर महिना शुभ रहनेछ।
सम्बन्धको हिसाबले यो वर्ष राम्रो नरहला। नयाँ सम्बन्ध स्थापना नगर्नु नै राम्रो होला। प्रेम र मित्रताको सम्बन्धमा खटास आउनसक्छ। साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउनेछ।
अध्ययन र अध्यापनमा रूचि घट्नेछ। शिक्षा क्षेत्रमा समग्रमा हेर्ने हो भने त्यति शुभ नरहला। विदेशिएका विद्यार्थीहरूले बढी सफलता हासिल गर्नेछन्। विज्ञान र स्वास्थ्य क्षेत्रका मानिसले बढी सफलता मिल्नेछ।
यो वर्ष नयाँ रोजगारको अवसर मिल्नेछ। सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ। अनावश्यक वादविवादमा नपर्नु कै राम्रो हुनेछ। आफ्नो पेशाबाट राम्रो फाइदा मिल्नेछ।
मानसिक चिन्ता र समस्या बढ्न सक्छ। त्यसैले खानपिनमा विशेष ध्यान आवश्यक रहेको छ। मंसिर महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ।
कर्कट राशि

वर्ष २०७९ कर्कट राशिका मानिसका लागि शुभ नै रहनेछ। बृहस्पतिको गोचरले यस वर्ष भाग्यमा वृद्धि हुनेछ। सन्तान सुख प्राप्त हुनसक्छ। व्यवसायीक सन्दर्भमा नयाँ अवसर मिल्नेछन्। वैदेशिक यात्रा हुनेछ।
वर्ष २०७९ व्यापार व्यवसायमा लगानी गर्नु निकै फलदायी हुने सम्भावना रहेको छ। प्रविधि, शैक्षिक क्षेत्र त्यति राम्रो हुने छैन। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज महिना बलियो रहनेछ भने असार र पुष महिना अलि कमजोर रहला।
यो वर्ष प्रेममा रहेका मानिसले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् र नयाँ प्रेम सम्बन्धलाई घर परिवारको समर्थन रहन्छ। घरपरिवारसँग सम्बन्ध पनि बलियो नै हुनेछ।
यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहने सम्भावना रहेको छ। वैदेशिक क्षेत्रमा जाने इच्छा रहेका मानिसले राम्रै सफलता प्राप्त गर्लान्। प्राविधिक क्षेत्रका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने संकेत छ।
स्वास्थ्य, सेवा र निर्माण क्षेत्रमा लागेका मानिसलाई राम्रो लाभ मिल्नसक्छ। सामाजिक क्षेत्रमा उच्च मान सम्मान प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा रहेका मानिसले पदोन्नती प्राप्त गर्न सक्छन्।
यस वर्ष स्वास्थ्यको बारेमा भन्नु पर्दा तपाईंको स्वास्थ्य सामान्य नै रहनेछ। स्वास्थ्यले गर्दा खर्च बढ्नसक्छ। हड्डीको सम्बन्धि समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला।
सिंह राशि

सिंह राशिका मानिसको लागि २०७९ साल निकै शुभ रहनेछ। भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुने सम्भावना उच्च रहेको छ। सन्तान सुख मिल्ने र भाग्यमा वृद्धि हुने देखिन्छ।
यो वर्ष आर्थिक पक्ष निकै बलियो हुने देखिन्छ। व्यापार व्यवसायमा रहेका मानिसलाई यो समय निकै अनुकूल रहनेछ। पुरानो ऋण तिर्न सकिनेछ। सेयर बजारको कारोबार राम्रो नै होला। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल मिल्नेछ। आर्थिक हिसाबले जेठ, असार र असोज महिना शुभ रहनेछ।
पतिपत्नी वा प्रेमी प्रेमिकाका बीच समझदारी बढ्दा सम्बन्ध अझै प्रगाढ हुनेछ। शत्रु परास्त हुनेछन्। वर्षको उत्तरार्धमा नयाँ प्रेम सम्बन्धमा नपरेकै राम्रो हुनेछ, अन्यथा विवाद बढ्न सक्छ। कार्य क्षेत्रका भने सहकर्मीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।
शिक्षा क्षेत्रको बारेमा कुरा गर्नु पर्दा विशेषगरी कला, साहित्य र मनोरञ्जन क्षेत्रमा रहेका मानिसले राम्रो सफलता प्राप्त गर्न सक्छन्। वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरुले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला।
यो वर्ष व्यापार वा रोजगारीको क्षेत्रबाट आम्दानी घट्नेछ। नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ। शत्रुलाई पाखा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ।
स्वास्थ्यको बारेमा कुरा गर्दा यो वर्ष सिंह राशिका मानिसलाई शुभ नरहला। रक्तचाप तथा हृदय सम्बन्धि समस्या बढ्न सक्छ, त्यसैले वर्षभर स्वास्थ्यको बारेमा सजग रहनुहोला।
कन्या राशि

कन्या राशिका मानिसलाई लागि २०७९ वर्ष माध्यम फलदायी रहने देखिन्छ। बृहस्पतिको गोचरको प्रभावले वर्ष राम्रो नै रहला। सामाजिक र राजनैतिक कार्यमा तपाईं संलग्न हुनुहुनेछ। भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ। त्यस्तै, राहु र केतुले अशुभ फल दिन सक्छ।
यस साल व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्ने पूरा सम्भावना रहेको छ। घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ। सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुहोस्, हानि हुनसक्छ। वैशाख र भाद्र महिना आर्थिक हिसाबले राम्रो नरहला भने असार, साउन, र फाल्गुन महिना शुभ रहनेछन्।
प्रेम सम्बन्ध पहिलाको भन्दा अझ मजबूत हुनेछ। साउन महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। आफन्त, दाजुभाइ तथा घरपरिवारसँगको विवाद पनि पूर्ण रूपमा समाधान हुँदा पारिवारिक वातावरण निकै सुखमय रहनेछ।
शिक्षा क्षेत्रमा कुरा गर्दा यो वर्ष मिश्रित रहनेछ। वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति राम्रो नरहला, तर वर्षको अन्त्यमा भने राम्रै सफलता मिल्न सक्छ।शैक्षिक क्षेत्रबाट साउन र कार्तिक महिनामा अधिक सफलता मिल्ने संकेत छ।
वैदेशिक क्षेत्रका काम बन्ने र रोजगारीको राम्रो अवसर मिल्ने देखिन्छ। निजी क्षेत्रमा रहेका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने सम्भावना उच्च रहेको छ। साझेदारीमा गरिएको लगानी फलदायी नहुन सक्छ।
स्वास्थ्यमा समस्या बढ्न सक्छ। यात्रा गर्दा वा गाडी चलाउँदा विशेष सावधान रहनुहोला। यसका साथै खानपिनमा पनि विशेष विचार पुर्याउनु आवश्यक छ। परिवारको कुनै सदस्यको स्वास्थ्यमा समस्या आउँदा थप खर्च बढ्नेछ।

