भरतपुर छाड्ने प्रचण्डको संकेत, भागमा भरतपुर परेपनि रेणुलाई नउठाउने !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नलिएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नेक्रममा भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका हुन्।

माओवादीलाई भरतपुर नै चाहिन्छ र भरतपुरको मेयर रेणु दाहाल नै हुनु पर्छ भनेर माओवादीले अडान राखेको कुरालाई प्रचण्डले सिधै खारेज गरे। माओवादीले त्यति केहि अडान नराखेको प्रचण्डको भनाई छ।

“रेणुलाई भरतपुर चाहियो‚ नभए हुन्न भन्ने कुरामा सत्यता छैन। भरतपुर नै नभई भएन रेणु नै नभइ भएन भन्ने हाम्रो अडान होइन।”,प्रचण्डले भने। प्रचण्डले भरतपुरमा माओवादीले जित्ने आधार रहेका कारण सो क्षेत्र आफूहरुले रोजेको उनले बताए।

उनले भने,”हामीले केवल जित्न सजिलो हुने स्थान हेरेर बाँडफाँट गरौं भनेका हौं । त्यसमा कांग्रेसका धेरैलाई पनि भरतपुरमा हामीलाई सहज हुन्छ भन्ने छ । तर केहीलाई त्यस्तो लागेको छैन।”

त्यस्तै प्रचण्डले ६ वटा महानगरपालिकामध्ये ३ वटा कांग्रेसलाई दिने र बाँकी ३ माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच भागबण्डा गरेर अगाडी बढ्ने पक्षमा कुराकानी भैरहेको प्रचण्डको पनि बताए।

“गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ।”,उनले भने।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१४:३४

सत्ता गठबन्धन: पोखरामा अड्कियो तालमेल !