हाजार्डले मात्रै एउटा शर्तमा रियल छाड्ने !

एजेन्सी – रियल म्याड्रिडमा इडन हाजार्डको भविष्य के हुने भन्ने विषय चर्चामा रहने गरेको छ । रियलले आउने सरुवा बजारमा सायद उनको बारेमा सोच्न सक्नेछ । तर, भाइ केलियनले भने इडनले क्लब छाड्ने सोच नराखेको र उनी आफूलाई त्यहाँ प्रमाणित गर्न चाहिरहेको बताएका छन् ।

‘जब सम्म उनले क्लबमा आफ्नो बलियो भूमिका प्रमाणित गदैनन् तब सम्म रियल छाड्छन् जस्तो लाग्दैन, केलियन भने,‘ जुन क्लबमा खेले त्यहाँ उनले आफूलाई उत्कृष्ट साबित गरेका छन् । मेरो विचारमा उनी रियल छाड्न चाँहदैनन् । उनले रियल छाड्नेमा मलाई विश्वास छैन ।’

एउटा शर्तमा भने इडनले क्लब छाड्ने सम्भावना रहेको केलियनले बताएका छन् । ‘यदि रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा भने उनले रियल छाड्न सक्छन्,’ केलियनले थपे,‘ यदि आउने दिनमा उनले खेल्न पाउने सम्भावना नभएको खण्डमा मात्र त्यो सोच्न सक्छन् । त्यो अवस्थामा भने मलाई लाग्छ उनी बस्ने छैनन् ।’

उनले इडनप्रति विश्वास देखाउँदै भने,‘ तर मलाई आशा छ उनले रियलमा उत्कृष्ट खेलाडी हुनका लागि सम्भव भएका सबै प्रयास गर्नेछन् ।’ प्रिमियर लिग टोली चेल्सीबाट रियल पुगेदेखि इडनले सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन् । उनी पटक पटक चोटग्रस्त रहेका कारण पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका छन् ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१८:३२

बार्सिलोनाका टार्गेट भन्छन् – ‘मेस्सी जस्तो कसैले पनि खेल्न सक्दैन’