काठमाडौँ – लुकाई छिपाई भन्सार छली ल्याएको विभिन्न समान सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अवैध सुन, मोबाइल र ल्यापटपसहित एक व्यक्तिलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–८ का भागदेव कठरिया रहेका छन्। उनी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका थिए।
प्रहरीले उनको साथबाट ४० ग्राम सुनको लकेट, एप्पलको म्याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्याक्स र आइफोन ११ प्रो म्याक्स फोन गरी करिब १० लाख ४ हजार ८ सय मूल्य बराबरको सामान बरामद गरेको छ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।