नेपालका खुङखार क्रिप्टोकरेन्सी कारोबारी पक्राउ, दिनकै ५० लाख सम्मको गर्थे कारोबार !

काठमाडौँ – प्रतिबन्धित क्रिप्टोकरेन्सी करोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। एक वर्ष भन्दा बढी समय देखि क्रिप्टोकरेन्सी करोबार गर्दै आएको तीन जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन्।

पक्राउ परेका उनीहरुले काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्दै आएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुप मिश्रले सन् २०२१ को मे देखि कारोबार गर्दै आएका थिए। उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको बताइएको छ। अनुसन्धानका क्रममा उनको बिनान्स एकाउण्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको ०.३१७३६९१९ बिट क्वाईन मौज्दात रहेको देखिएको छ।

त्यस्तै पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएका थिए। उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको देखिएको छ। उनीसँग हाल बिनान्स एकाउन्टमा ६५१ अमेरिकी डलर बराबरको बिट क्वाइन मौज्दात रहेको देखिएको प्रहरीले जनाएको छ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गर्दै आएका थिए। उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरिसकेको देखिएको छ। उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको पाइएको छ।

उनीहरुलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाईनको कारोबार गर्दै आएका थिए। उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाईनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको देखिएको छ। उनीहरुले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं पठाईएको छ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९२०:४७

विश्वप्रकाशले घुमाउरो पारामा मागे जनार्दन शर्माको राजीनामा !