एनफिल्डमा युनाइटेडको ‘राम-धुलाई’, लिभरपुल शिर्ष स्थानमा !

एजेन्सी – उपाधि होडमा रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडमाथि ४–० को सानदार जित निकालेको हो ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे ।

एकपक्षीय बनेको खेलको पाँचौ मिनेटमा लुइस डियाजको गोलबाट लिभरपुलले गोलको खाता खोलेको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । २२औं मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गरेपछि लिरभपुल पहिलो हाफमा २–० ले अघि बढ्यो ।

६८औं मिनेटमा साडियो मानेले लुइस डियाजको पासमा गोल गरेपछि लिभरपुल सहज जिततर्फ अग्रसर बन्यो । ८५औं मिनेटमा डिएगो जोटाको पासमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

यो जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिभरपुलले यो सिजन युनाइटेडलाई प्रिमियर लिगको दुवै खेलमा पराजित गर्न सफल भयो । यसअघि लिभरपुलले ५–० को फराकिलो जित निकालेको थियो । युनाइटेडले भने योसँगै पछिल्लो तीन खेलमा लिभरपुललाई हराउन सकेन ।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै चौथो स्थानको टोटेनहम हटस्परसँग अंक बराबरी गर्ने मौका गुमाएको युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०७:०८

बायर्नले तोक्यो लेवान्डोस्कीको मूल्य ! कति ?