एजेन्सी – जर्मन च्याम्पियन्स बायर्न म्युनिखले स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीको बिक्री मूल्य निर्धारण गरेको छ। जर्मन मिडियाहरुका अनुसार बायर्नले रोबर्ट लेवान्डोस्कीको मूल्य निर्धारण गरेको हो।
लेवान्डोस्कीको सम्झौता सन् २०२३ मा सकिँदैछ। बायर्न र लेवान्डोस्की बीच सम्झौता थपको विषयमा खासै गम्भीर छलफल हुनसकिरहेको छैन। सामान्यतया बायर्नले ३० वर्ष भन्दा माथिका खेलाडीहरुसँग खासै लामो समयका लागि सम्झौता गर्दैन।
बायर्नले धेरैमा एक वर्षसम्म लेवान्डोस्कीको सम्झौता थप्न सक्ने जर्मन मिडियाहरु बताउँछन्। तर लेवान्डोस्की भने त्यो भन्दा बढी समयको सम्झौता चाहन्छन्। जसकारण उनले बायर्न छाड्न सक्ने देखिन्छ।
लेवान्डोस्कीले बायर्न छाड्न सक्ने सम्भावना देखिएसँगै युरोपका धेरै क्लबहरुको नजर त्यसतर्फ केन्द्रित भएको छ। बताइएअनुसार बार्सिलोना, पेरिस सेन्ट जर्मेन(पिएसजी), म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरु लेवान्डोस्कीलाई भित्र्याउन चाहन्छन्। बार्सिलोना र युनाइटेडले त लेवान्डोस्कीका लागि बायर्नसँग पनि सम्पर्क गरिसकेका छन्।
लेवान्डोस्कीको मूल्य कति ?
युरोपका धेरै क्लबहरुले चासो देखाएपछि बायर्नले लेवान्डोस्कीको मूल्य निर्धारण गरेको बताइन्छ। जर्मन मिडियाहरुका अनुसार बायर्न लेवान्डोस्कीका लागि ३३ मिलियन युरो चाहन्छ।
लेवान्डोस्की सन् २०१४ मा बायर्न पुगेका थिए। त्यसयता उनले बायर्नका लागि ३ सय ७१ खेल खेलिसकेका छन्। अहिले सम्म उनले ३ सय ४१ गोल गरिसकेका छन्। गएको केहि सिजन देखि उनी झनै उच्च लयमा देखिन्छन्।