युनाइटेड समग्रमा ९-० ले पराजित, क्लोप भन्छन् – ‘उनीहरुको पनि दिन आउनेछ’

एजेन्सी – प्रिमियर लिग लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आउने समयमा म्यानचेस्टर युनाइटेड बलियो भएर आउने र जवाफ फर्काउने बताएका छन्। प्रिमियर लिगमा युनाइटेड विरुद्ध ४-० को जित निकालेपछि क्लोपले यस्तो बताएका हुन्।

गत अक्टोबरमा युनाइटेडको घरेलु मैदानमा लिभरपुलले ५-० को जित निकालेको थियो। मंगलबार पनि लिभरपुलले ४-० को जित निकाल्यो। यससँगै युनाइटेड लिभरपुलसँग समग्रमा ९-० ले पराजित हुन पुग्यो। सो बारे पत्रकारहरुले क्लोपलाई प्रश्न गरेका थिए।

त्यसक्रममा क्लोपले आफू विपक्षी टोलीलाई अपमानित गर्ने पक्षमा आफू नरहेको बताए। सिजनका दुई खेलमा जे गर्नुपर्ने हो त्यहि मात्र गरेको क्लोपको भनाई छ। युनाइटेड कठिन परिस्थितिबाट गुज्रिरहेको क्लोप बताउँछन्।

“म यहाँ विपक्षीहरूलाई अपमानित गर्न आएको होइन। हामीले (दुई) खेलहरूमा जे गर्नु पर्ने थियो त्यही गर्यौं। उनीहरू आफ्ना सेन्टर मिडफिल्डरहरू बिना खेले। युनाइटेडको जस्तो कठिन परिस्थिति खेल्न गार्हो हुन्छ। हामीसँग खेल्न सजिलो छैन।”,क्लोपले भने।

युनाइटेड ९-० ले पराजित भयो भन्ने कुरामा आफूलाई चासो नरहेको पनि क्लोपले बताए। जहिले पनि परिस्थिति अहिलेकै जस्तो हुन्छ भन्ने क्लोप मान्दैनन्। उनका अनुसार युनाइटेडले भविष्यमा जवाफ फर्काउनेछ।

उनी भन्छन्,”९-० को मलाई चासो छैन। यसमा यदि समर्थकहरूले भने उत्सव मनाउन सक्छन्। तर मलाई थाहा छ यो सधैंभरि रहनेछैन। उनीहरुले पक्कै जवाफ फर्काउनेछन्।”

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१०:३७

लिग वान च्याम्पियन हुन पिएसजीलाई कति अंकको छ आवश्यकता ?