दुई पेनाल्टीमा चुके बेन्जेमा, तर पनि रियलको जित !

एजेन्सी – यो सिजन उच्च लयमा रहेको फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियल म्याड्रिडले जित निकाल्दै स्पेनिस ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ ।

रियलले घरेलु टोली ओसासुनामाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजले गोल गरे । घरेलु टोली ओसासुनाका एन्टिी बुडिमिरले एक गोल फर्काए ।

इल सादर पम्पलोनामा बुधबार राति भएको खेलको १२औं मिनेटमा डेभिड अलाबाको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । करिम बेन्जेमाको लो क्रस पासमा अलाबाको पहिलो प्रयासलाई गोलरक्षक सर्जियो हेरेराले बचाएपनि रिवाउन्डमा अलाबाले नै गोल गर्न सफल भएका थिए । तर, रियलको त्यो अग्रता एक मिनेट पनि टिकेन ।

१३औं मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । एभिलाको क्रसमा अनमार्क रहेका उनले खाली पोस्टमा जाली चुमाएका थिए । ३३औं मिनेटमा घरेलु टोलीका लागि बुडिभिरले गोल गरेपनि भिएआरमा अफसाइड देखिदा गोलले मान्यता पाएन । ४५औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ड्यानियल सेवालोसको प्रहारलाई गोलरक्षकले बचाएपनि रिवाउन्डमा एसेन्सियोले कुनै गल्ती गरेनन् ।

बेन्जेमाले दोस्रो हाफमा सात मिनेटको अन्तरमा दुई पेनाल्टी चुकाए । उनको दुवै पेनाल्टीलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाए । ५१औं मिनेटमा रोड्रिगोको प्रयासलाई एभिलाले स्लाइड दिदै बचाउने प्रयास गरेपनि नभेट्दा उनले हातले बल छोएका थिए । बेन्जेमाको पेनाल्टीलाई गोलरक्षकले बचाए ।

लगत्तै ५९औं मिनेटमा बेन्जेमाले अर्काे पेनाल्टी चुकाए । यसपटक पनि रोड्रिगोलाई भिडालले फउल गर्न पुगेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थियो । तर, बेन्जेमाको पेनाल्टीमा गोलरक्षक सर्जियो हेरेरा बाधक बने । हेरेरा २०१८ पछि ला लिगाको एकै खेलमा दुई पेनाल्टी बचाउने गोलरक्षक बने ।

त्यतिबेला सर्जियो एसेन्जियोले गेटाफेविरुद्ध दुई पेनाल्टी बचाएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लुकास भास्क्वेजले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको सहज जित पक्का गरे ।

यो जितसँगै उपाधितर्फ लम्किएको रियलले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधिको लागि ५ खेलबाट केवल ४ अंकको खाँचो छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६१ अंक तथा दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ । पराजित ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०७:३९

“म्यानचेस्टर टिम बेकार भयो, युनाइटेडका खेलाडीहरुलाई फुटबल कसरी खेल्नुपर्छ नै थाहा छैन”